धनुषा । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री नागेन्द्र शाहले मधेश प्रदेश सरकारको अग्रसरतामा चाडै क्यान्सर रोगको उपचार शुरु हुने बताउनु भएको छ ।
मधेश प्रदेशको स्वास्थ्य निर्देशनालयको आयोजनामा तथा नेपाल पत्रकार महासंघ धनुषाको समन्वयमा स्वास्थ्य प्रवद्र्धन सम्बन्धि मिडियाकर्मीहरुका लागि एक दिने पैरवी कार्यक्रमको धनुषाकोे आज मिथिला नगरपालिकाको ढल्केवरमा उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो ।
उहाँले अहिले क्यान्सरको उपचार प्रदेशमा नभएका कारणले आर्थिक रुपमा कमजोर भएका नागरिकले समयमा उपचार नपाएर मृत्यु वरण गर्नु परेकाले प्रदेश सरकारले अगामी आर्थिक वर्षमा क्यान्सर रोगको उपचारका लागि प्रदेशमा अस्पताल खोल्ने गरि बजेट विनियोजन गरेको बताउनु भयो ।
स्वास्थ्यमन्त्री साहले अहिले मधेश प्रदेशका प्रादेशिक अस्पतालहरुमा धेरै विषयका विशेषज्ञ सेवाहरुको उपचार तथा शल्य क्रियाहरु हुने गरेको बताउदै थप सुधारका लागि प्रदेश सरकार दृढतापूर्वक कामकाज अगाडी बढाको बताउनु भयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रमोद यादवले देशमा संघीयता गएपछि मधेश प्रदेशको स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन भएको बताउदै प्रदेशिक अस्पताल जनकपुरधाममा मात्र २५ वट डायलाईसीस मेसिनले नियमित काम गर्नुका साथै लहान, जलेश्वर र कलैयामा पनि सेवा दिने काम भएको बताउनु भयो ।
उहाँले प्रदेश जनस्वास्थ्य प्रयोगशालाको स्थापना गरेर गुणस्तरीय स्वस्थ्य परीक्षणका साथै जनकपुरधाममा नै २ करोड डोज खोप भण्डारन गर्ने कोल्ड च्यान स्थापना भएकाले त्यसकै आधारमा प्रदेशलाई २ वर्ष देखि पूर्ण खोप घोषणालाई निरन्तरता दिने काम भएको बताउनु भयो ।
मधेश प्रदेशका स्वास्थ्य निर्देशक सरोजचन्द्र न्यौपानेको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजेश कर्ण, राजकरण महतो र महासंघ धनुषाका अध्यक्ष पुरन साहले बोल्नु भएको थियो । कार्यक्रममा पत्रकार अनिल कर्णले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।







