महोत्तरी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गौशाला नगर समितिले गौशाला नगरपालिका र निगौल गाई गौशालाबीच देखिएको विवाद संवाद तथा सहमतिका माध्यमबाट समाधान गर्न आग्रह गरेको छ।
शनिबार गौशालामा आयोजित पत्रकार सम्मेलनमा समितिले अनुसन्धानका लागि नियन्त्रणमा लिइएका नगरप्रहरीको विषयमा सम्बन्धित सबै पक्षले प्रशासनलाई सहयोग गर्नुपर्ने धारणा व्यक्त गरेको हो।नगर समितिका सभापति ज्ञानेन्द्रप्रसाद गुप्ताले कानुनी प्रक्रिया अगाडि बढिसकेको अवस्थामा कुनै पनि पक्षबाट अनुसन्धान प्रभावित हुने गरी दबाब सिर्जना गर्नु उपयुक्त नहुने बताउनुभयो।



उहाँले नगरपालिकाले नगरवासीलाई प्रदान गर्ने आधारभूत सेवा–सुविधामा अवरोध गर्न नहुने उल्लेख गर्दै सेवा प्रवाह प्रभावित भए आफ्नो पार्टीले विरोध गर्ने बताउनुभयो।उहाँले गौशाला नगरपालिका र निगौल गाई गौशालाबीचको सहकार्यबाट मात्रै गौशाला बजारको विकास सम्भव हुने भएकाले वार्ता र सहमतिमार्फत विवादको स्थायी समाधान खोज्नुपर्नेमा जोड दिनुभयो।

समितिद्वारा जारी विज्ञप्तिमा उक्त घटनाले कानुनी शासन, प्रशासनिक मर्यादा,स्थानीय सरकारको कार्यशैली तथा नागरिक अधिकारसँग सम्बन्धित विषयमा प्रश्न उठाएको उल्लेख गरिएको छ। सार्वजनिक रूपमा आएका भिडियो तथा घटनाक्रमका कारण जनस्तरमा चासो र बहस बढेको विज्ञप्तिमा जनाइएको छ।
नेपालको संविधानले नागरिकलाई कानुनअगाडि समानता, सम्मानपूर्वक बाँच्न पाउने तथा न्याय प्राप्त गर्ने अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै समितिले स्थानीय सरकारले आफ्नो अधिकार कानुन,प्रक्रिया र जनउत्तरदायित्वको सीमाभित्र रहेर प्रयोग गर्नुपर्ने जनाएको छ।विज्ञप्तिमा स्थानीय सरकार सञ्चालन ऐन,सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन तथा प्रचलित कानुनअनुसार सार्वजनिक निकाय र पदाधिकारीले कानुनी प्रक्रिया, पारदर्शिता र जवाफदेहिताको दायराभित्र रहेर काम गर्नुपर्ने उल्लेख गरिएको छ।
समितिले घटनाका सम्बन्धमा आवश्यक समन्वय र कानुनी प्रक्रिया पूरा गरिएको थियो वा थिएन, महिला कर्मचारीमाथि दुर्व्यवहार भएको भनिएको विषयमा सम्बन्धित निकायको भूमिका तथा अनुसन्धान प्रक्रिया जारी रहँदा विद्यालय, स्वास्थ्य संस्था लगायतका सार्वजनिक सेवा प्रभावित पार्ने चेतावनी किन दिइयो भन्ने विषयमा छानबिन गर्न माग गरेको छ।
समितिले घटनाको सत्यतथ्य सार्वजनिक गर्न, दोषीमाथि कानुनबमोजिम कारबाही गर्न, अनुसन्धानलाई प्रभावित पार्ने तथा जनताको आधारभूत सेवा अवरुद्ध गर्ने गतिविधि रोक्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन स्पष्ट कार्यविधि निर्माण गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ।
रास्वपाले आफ्नो राजनीति व्यक्ति केन्द्रित नभई प्रणाली केन्द्रित रहेको उल्लेख गर्दै कानुनको शासन,पारदर्शिता र जवाफदेहिताप्रति प्रतिबद्ध रहेको जनाएको छ।जिल्ला प्रहरी कार्यालयले अनुसन्धानका लागि गौशाला नगरपालिकामा कार्यरत ८ जना नगरप्रहरीलाई बिहीबार नियन्त्रणमा लिएपछि त्यसको विरोधमा गौशाला नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालय तथा स्वास्थ्य संस्थाका कर्मचारीले अनिश्चितकालका लागि सेवा बन्द गर्ने निर्णय गरेका थिए।





