महोत्तरी – महोत्तरीको गौशाला नगरपालिका–८ भण्टाबारीस्थित रहेको ब्रह्मस्थान मन्दिरको सार्वजनिक जग्गामा रहेको भिस (मसला)को रुख काट्ने क्रममा ढल्दा एक जना गम्भीर घाइते हुनुभएको छ।
आइतबार बिहान करिब ८ः१५ बजे रामबाबु महतोले ठेक्कामा लिएको उक्त रुख उहाँका २४ वर्षीय छोरा करण महतोले काट्ने क्रममा अनियन्त्रित रूपमा ढलेर बाटोबाट हिँडिरहनुभएका स्थानीय ५५ वर्षीय रघुनाथ महतोमाथि खसेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।



रुखले लाग्दा रघुनाथ महतोको टाउको र घाँटीमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। उहाँलाई तत्काल गौशालास्थित एक निजी पोलिक्लिनिकमा पुर्याई प्राथमिक उपचार गरिएको थियो। स्वास्थ्य अवस्था जटिल भएपछि गौशाला नगरपालिका–५ स्थित त्रिभुवन नमुना माध्यमिक विद्यालयको प्राङ्गणमा हेलिकप्टर अवतरण गराई थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
घटनापछि रुखको ठेक्का लिएका रामबाबु महतोलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गौशालामा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।











