विजयकुमार साह
ढल्केबर । धनुषाको गणेशमान चारनाथ नगरपालिकाका ३२८ परिवारलाई गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिएको छ। नापी कार्यालय धनुषाले आइतबार गणेशमान चारनाथ नगरपालिका–५, चिसापानीमा आयोजना गरेको कार्यक्रममा ती परिवारलाई लालपुर्जा हस्तान्तरण गरिएको हो।
नापी कार्यालय धनुषाका प्रमुख उमेश साहका अनुसार साबिक तल्लो गोदार गाविसका वडा नं. १ देखि ९ सम्म तथा हाल गणेशमान चारनाथ नगरपालिका–५ र ६ अन्तर्गतका ३२८ परिवारलाई गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिएको हो।



उहाँका अनुसार जग्गाको नापजाँच कार्य २०७० सालमै सम्पन्न भए पनि विभिन्न प्राविधिक तथा प्रशासनिक कारणले लालपुर्जा वितरणमा ढिलाइ भएको थियो। नापनक्सा, फिल्ड प्रमाणीकरण तथा आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि अहिले लालपुर्जा वितरण गरिएको उहाँले बताउनुभयो।
कार्यालय प्रमुख साहले गाउँब्लक जग्गाको कानुनी स्वामित्व प्राप्त भएसँगै लाभग्राही परिवारको जीवनमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो। उहाँले जग्गा नापजाँच, अभिलेख वा प्राविधिक त्रुटिका कारण लालपुर्जा प्राप्त गर्न नसकेका व्यक्तिलाई आवश्यक कागजातसहित नापी कार्यालयमा सम्पर्क गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा गणेशमान चारनाथ नगरपालिकाका नगर प्रमुख जितनारायण यादवले पुस्तौँदेखि भोगचलन गर्दै आएको गाउँब्लक जग्गाको कानुनी स्वामित्व दिलाउन नगरपालिकाले निरन्तर पहल गर्दै आएको बताउनुभयो। वडा जनप्रतिनिधि र नापी कार्यालयका कर्मचारीको सक्रियताका कारण लामो समयदेखि रोकिएको लालपुर्जा वितरण सम्भव भएको उहाँको भनाइ थियो।
नगर प्रमुख यादवले लाभग्राहीलाई कानुनी रूपमा जग्गाको स्वामित्व उपलब्ध गराउनु राज्यको दायित्व भएको बताउँदै लालपुर्जाबाट वञ्चित परिवारलाई पनि चाँडै सम्पूर्ण प्रक्रिया पूरा गरी वितरण गरिने उल्लेख गर्नुभयो।
लालपुर्जा प्राप्त गरेका स्थानीय सुरेश रायले पुस्तौँदेखि भोगचलन गर्दै आएको जग्गाको कानुनी स्वामित्व प्राप्त भएपछि खुसी लागेको बताउनुभयो। लालपुर्जा पाएसँगै बैंकिङ कारोबार तथा अन्य कानुनी प्रयोजनका लागि सहज हुने उहाँको भनाइ थियो।
कार्यक्रममा गणेशमान चारनाथ नगरपालिका–५ का वडाध्यक्ष जयचन्द्र भट्टराई, वडा नं. ६ का वडाध्यक्ष रञ्जितकुमार साह, नापी कार्यालय धनुषाको टोली नं. १ का प्रमुख रञ्जित यादव, कार्यालयका कर्मचारी, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।-गोरखापत्र




