सर्लाही, लालबन्दी-सर्लाहीको लालबन्दीमा मोबाइल व्यवसायीमाथि लुटपाटको प्रयास हुँदा अज्ञात समूहले गोली प्रहार गरेको छ। बुधबार राति करिब ८ बजेपछि लालबन्दी नगरपालिका–७ र ९ को सीमास्थित आइडियल स्कुल नजिकको एकान्त क्षेत्रमा घटना भएको हो।
प्रहरीका अनुसार लालबन्दी नगरपालिका–७ स्थित बजारमा मोबाइल पसल सञ्चालन गर्दै आएका लालबन्दी–९ बस्तीपुरका हरिप्रसाद सापकोटा पसल बन्द गरेर एक जना साथीसँग मोटरसाइकलमा घर फर्किरहेका बेला मोटरसाइकलमै आएका अपरिचित व्यक्तिहरूले उनीमाथि लुटपाटको प्रयास गरेका थिए।



जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमका अनुसार लुटपाटको क्रममा सामान्य धकेलाधकेल भएपछि हतियार बोकेका एक व्यक्तिले कटुवा पेस्तोलबाट गोली प्रहार गरेका थिए। घटनास्थलबाट पड्किसकेको गोलीका दुई वटा खोका बरामद गरिएको प्रहरीले जनाएको छ।गोली प्रहार भए पनि सापकोटा र उनीसँग मोटरसाइकलमा सवार साथी दुवै सकुशल रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी गौतमले जानकारी दिए।
घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय मलङ्गवाबाट डीएसपीको नेतृत्वमा थप प्रहरी टोली परिचालन गरिएको थियो। घटनामा संलग्न व्यक्तिहरूको खोजीका लागि प्रहरीले बिहीबार बिहान २ बजेसम्म सर्च अपरेसन सञ्चालन गरे पनि कसैलाई पक्राउ गर्न सकेको छैन।
मोबाइल व्यवसायीमाथि लुटपाट गर्ने उद्देश्यले गोली प्रहार भएको घटनापछि लालबन्दी क्षेत्रका व्यवसायी र स्थानीयवासीमा त्रास फैलिएको छ। लालबन्दी नगरपालिका–९ का वडा सदस्य विनोद तिमल्सिनाले घटनापछि स्थानीयमा असुरक्षाको भावना बढेको भन्दै दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन्।




