काठमाण्डौ – लगातारको वर्षापछि आएको पहिरो र सम्भावित बाढीको जोखिमका कारण काठमाण्डौ उपत्यकाबाट बाहिरिने र भित्रने गाडीहरू चल्न सकेका छैनन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार संघीय राजधानीलाई विभिन्न जिल्लासँग जोड्ने मुख्य राजमार्गहरूमा अवरोधपछि गाडी चल्न नसकेका हुन् । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० क्षेत्रमा गए राति पहिरो खसेपछि काठमाण्डौ–चितवन–पोखरा जोड्ने सडक पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।



गए राति १० बजेदेखि आज बिहान ५ बजेसम्मका लागि सडक बन्द गरिएको भए पनि त्यसपछि थप पहिरो खसेकाले गाडी चलेका छैनन् । रातिदेखि नै गाडी आवागमन रोकेकाले सडकमा जाम भने नभएको धादिङ प्रहरीले जनाएको छ । यद्यपि, काठमाण्डौ उपत्यकाबाट पृथ्वी राजमार्ग हुँदै पश्चिम नेपाल जाने यात्रुहरू प्रभावित भएका छन् । चितवन खण्डमा भने अहिलेसम्म सडक अवरुद्ध नभएको चितवन प्रहरीले जनाएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार काठमाडौंबाट बाहिरिने अहिले भट्टेडाँडा–हेटौँडा खण्डबाट मात्र सञ्चालनमा छ । अन्य प्रमुख मार्गमा जोखिम उच्च रहेकाले गाडी चल्न सकेका छैनन् । पूर्वतर्फ जाने यात्रुहरू पनि प्रभावित भएका छन् । काभ्रेको रोशी गाउँपालिका क्षेत्रमा रोशी खोलामा बाढी आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै स्थानीय प्रशासनले गाडी चलाउन रोक लगाएको छ । यो सडक मनसुनका बेला रातमा बन्द हुँदै आएको छ ।
जल तथा मौसम विज्ञान विभागले बागमती प्रदेशका धेरै ठाउँमा वर्षा भइरहेको र थप वर्षा हुने सम्भावना रहेको जनाएको छ । विशेष गरी सिन्धुपाल्चोक, काभ्रे, ललितपुर र आसपासका क्षेत्रमा ठूलो वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाले नदी–खोला आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । स्थानीय प्रशासनले अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न र मौसमसम्बन्धी अद्यावधिक सूचना पछ्याउन सबैलाई आग्रह गरेको छ ।







