सुजाता राई
विराटनगर । पहिचानवादी श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष तथा माननीय हर्कराज साम्पाङले श्रमलाई सम्मान गर्ने संस्कृति नै मुलुकको समृद्धिको आधार भएको बताएका छन्।



विराटनगरस्थित विष्णुमाया पुस्तकालयको सभाहलमा आइतबार आयोजित पार्टीको कार्यक्रममा बोल्दै अध्यक्ष साम्पाङले पहिचानवादी श्रम संस्कृति पार्टी कुनै सीमित समूहको नभई सम्पूर्ण नेपालीको साझा राजनीतिक अभियान भएको बताए। उनले पुराना राजनीतिक दलभन्दा आफ्नो पार्टीको विचार र कार्यशैली फरक रहेको उल्लेख गर्दै, “हामी जहाँ पुग्छौं, त्यहीँ कामको सुरुवात गर्छौं। प्रत्येक दिन के काम गर्यौं भन्ने कुरा नै हाम्रो सिद्धान्त हो,” भने।

उनले सोचअनुसारको व्यवहार र व्यवहारअनुसारको जीवनशैली नै पार्टीको मूल मान्यता रहेको स्पष्ट पार्दै कुनै पनि काम सानो नहुने धारणा व्यक्त गरे। “हामी प्रधानमन्त्रीको कुर्सीमा बसेर पनि काम गर्छौं, सडकमा बसेर पनि काम गर्छौं, खेतबारीमा पनि श्रम गर्छौं। श्रमलाई सम्मान गर्नु नै हाम्रो पार्टीको पहिचान हो,” उनले भने।
नगर अध्यक्ष रामप्रसाद राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश अध्यक्ष प्रताप राई, केन्द्रीय सचिव इन्दिरा राई, केन्द्रीय सदस्य प्रसाद राई, प्रदेश सदस्य नरेन्द्र चाम्लिङ राई तथा उम्मेदवार कृष्ण अटलको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रदेश अध्यक्ष प्रताप राई, प्रदेश सदस्य नरेन्द्र चाम्लिङ राई तथा उम्मेदवार कृष्ण अटलले पार्टीको नीति, विचार र आगामी योजनाबारे धारणा राखेका थिए। सोही अवसरमा ४० भन्दा बढी व्यक्तिले पहिचानवादी श्रम संस्कृति पार्टीको सदस्यता ग्रहण गरेका नगर कोषाध्यक्ष सपना राईले जानकारी दिइन् ।
बालकुमारी राईले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन घनश्याम चाम्लिङले गरेका थिए।






