एसियन मापदण्डमा विस्तार भइरहेको महेन्द्र राजमार्गको काम अविरल वर्षाका कारण प्रभावित भएको छ । कमला–ढल्केबर–पथलैया सडक अन्तर्गत अहिलेसम्म सर्लाही, महोत्तरी र धनुषा खण्डमा मात्र ठेक्का लागेर काम अघि बढेको छ । रौतहट र बारा खण्डमा ठेक्का लाग्नै बाँकी छ । कमला–ढल्केबर–पथलैया सडक आयोजना (पूर्वी खण्ड) का सूचना अधिकारी एवं इन्जिनियर रामटहल यादवले पानी परेपछि केही दिनदेखि राजमार्ग विस्तारको काम बन्द जस्तै रहेको जानकारी दिनुभयो ।
राजमार्ग विस्तार अन्तर्गत विशेष गरी पुल र कलभर्टको काम गरिरहेका दुई/चार जना कामदार देखिने गरेकामा अहिले पानी परेपछि ती कामदार पनि देखिन छाडेका छन् । वर्तमान सरकारले आफ्नो नीति तथा कार्यव्रmम र बजेटमा महेन्द्र राजमार्ग विस्तारलाई उच्च प्राथमिकतामा राखेको भए पनि कामको गति भने सुस्त हुन गएको छ । इन्धनको मूल्यवृद्धिका कारण कामले गति लिन नसकेको बताइरहेका निर्माण व्यवसायीलाई बर्सातले झनै सुस्त बनाइदिएको हो ।



सर्लाही, महोत्तरी र धनुषामा महेन्द्र राजमार्ग विस्तारको काम अहिलेसम्म करिब ५० प्रतिशत पूरा भइसक्नुपर्नेमा भौतिक प्रगति २६ प्रतिशतमा सीमित देखिएको इन्जिनियर यादवले बताउनुभयो । रुख कटान तथा विद्युत्का पोल, खानेपानीका पाइप, टेलिफोनका तारलगायतका संरचना स्थानान्तरणमा भएको ढिलाइका कारण लक्ष्य अनुसार सडक विस्तारले गति लिन नसकेको हो ।
विश्व बैङ्कको ऋण सहयोगमा धनुषाको कमला पुलदेखि बाराको पथलैयासम्मको सडक चार लेनको बनाउने कार्य अन्तर्गत अहिलेसम्म कमला पुलदेखि सर्लाहीको बागमती पुलसम्मको ७४.७५ किलोमिटर खण्डमा मात्र ठेक्का लागेर काम भइरहेको छ ।
बर्खाका कारण गाडी र यात्रु घटे
केही दिनदेखिको अविरल वर्षाका कारण मधेशका जिल्लाबाट सङ्घीय राजधानी काठमाडौँसम्म सीमित गाडी सञ्चालन भइरहेका छन् । यात्रुसमेत नरहेकाले यहाँबाट काठमाडौँसम्म आउजाउ गर्ने कतिपय सवारीसाधन थन्काएर राखिएको छ । मुस्किलले सञ्चालन भइरहेका गाडीलाई यात्रु पाउन मुस्किल छ ।
लालबन्दीबजारमा टिकट काउन्टर सञ्चालन गर्ने सुनीलकुमार साहले रात्रिबस र अन्य सवारीमा यात्रुको सङ्ख्या कम भएको जानकारी दिनुभयो । पानी परेर मुग्लिङ–नारायणगढ सडकमा बारम्बार पहिरो खस्दा रात्रिबस पार गराउन समस्या परिरहेको साहको भनाइ छ ।
बर्खाको प्रभाव र यात्रु पनि नरहेकाले दुई वटा गाडी चल्ने ठाउँमा अहिले मुस्किलले एउटा मात्र गाडी सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।





