महोत्तरी – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाउनुभएको छ।
नेपाल प्रेस युनियन महोत्तरी शाखाले जलेश्वरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले जनताले दिएको बलियो जनादेशअनुसार सरकार सञ्चालन हुन नसकेको बताउँदै सरकार गम्भीरतापूर्वक जिम्मेवारी निर्वाह गर्नुभन्दा खेलाँची शैलीमा अघि बढिरहेको टिप्पणी गर्नुभयो।




महामन्त्री पौडेलले सरकार जनमुखीभन्दा शासकमुखी शैलीमा प्रस्तुत भइरहेको आरोप लगाउँदै सञ्चारमाध्यमको स्वतन्त्र आवाज दबाउने, प्रतिपक्षलाई तर्साउने तथा फसाउने प्रयास भइरहेको दाबी गर्नुभयो। सरकार पूर्वाग्रही ढंगले अघि बढिरहेको उहाँको भनाइ थियो।

उहाँले विभिन्न प्रकरणमा मुछिएका आफ्नै सांसद तथा मन्त्रीमाथि निष्पक्ष छानबिन नगरी सरकारले आफैं छानबिन गरेर ‘क्लिन चिट’ दिने प्रवृत्ति अपनाएको आरोप लगाउनुभयो। यस्तो कार्यले सुशासन, विधिको शासन तथा राज्यका निकायप्रतिको जनविश्वास कमजोर बनाएको उहाँले बताउनुभयो।

महामन्त्री पौडेलले अर्थमन्त्रीको हालैको अभिव्यक्तिप्रति पनि असन्तुष्टि जनाउनुभयो। जनताले तीन हजार पाँच सय रुपैयाँ तिरेर लाखौं रुपैयाँ बराबरको सेवा–सुविधा उपलब्ध गराउन नसकिने भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उहाँले “के राज्य व्यापारी हो ?” भन्ने प्रश्न गर्नुभयो।
राज्यको प्रमुख दायित्व नागरिकलाई आवश्यक सार्वजनिक सेवा तथा सामाजिक सुरक्षा सुनिश्चित गर्नु रहेको उल्लेख गर्दै उहाँले सरकार नागरिकप्रति उत्तरदायी भएर काम गर्नुपर्नेमा जोड दिनुभयो।

महामन्त्री पौडेलले प्रतिशोध र पूर्वाग्रहको राजनीति त्यागी संविधान, कानुन तथा लोकतान्त्रिक मूल्य–मान्यताअनुसार सरकार सञ्चालन गर्न आग्रह गर्नुभयो।






