विजयकुमार साह
ढल्केबर । मनसुन सक्रिय भएसँगै मधेश प्रदेशमा धान रोपाइँको क्षेत्रफल बढेको छ। पछिल्लो एक सातामै २० प्रतिशतभन्दा बढी क्षेत्रमा थप रोपाइँ भएको कृषि विकास निर्देशनालय मधेश प्रदेशको तथ्याङ्कले देखाएको छ।
निर्देशनालयका अनुसार असार मसान्तसम्म प्रदेशमा कुल धान खेती हुने क्षेत्रफलमध्ये ५७.९३ प्रतिशतमा मात्र रोपाइँ भएको थियो। वर्षा हुन थालेपछि साउन पहिलो सातासम्म आइपुग्दा रोपाइँ क्षेत्र बढेर ७८.५९ प्रतिशत पुगेको छ।



निर्देशनालयले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रदेशका आठ जिल्लामा रहेको तीन लाख ८५ हजार ९३३ हेक्टर धान खेतीयोग्य क्षेत्रमध्ये तीन लाख ५८० हेक्टरमा धान रोपाइँ सम्पन्न भएको छ।
जिल्लागत रूपमा सिरहामा सबैभन्दा बढी र महोत्तरीमा सबैभन्दा कम धान रोपाइँ भएको छ। सिरहामा ५४ हजार हेक्टर धान खेतीयोग्य क्षेत्रमध्ये ९४ प्रतिशत अर्थात् ५० हजार ७६० हेक्टरमा रोपाइँ भएको छ भने महोत्तरीमा ४० हजार हेक्टरमध्ये ५५.९३ प्रतिशत अर्थात् २२ हजार ३७२ हेक्टरमा मात्र रोपाइँ भएको निर्देशनालयले जनाएको छ।
त्यसैगरी सप्तरीमा ६८ हजार हेक्टरमध्ये ७२ प्रतिशत अर्थात् ४८ हजार ९६० हेक्टर, धनुषामा ४३ हजार ७०० हेक्टरमध्ये ७९.१ प्रतिशत अर्थात् ३४ हजार ५६६ हेक्टर, सर्लाहीमा ४२ हजार ६१५ हेक्टरमध्ये ७५ प्रतिशत अर्थात् ३२ हजार २१ हेक्टर, रौतहटमा ३८ हजार ५०० हेक्टरमध्ये ७९ प्रतिशत अर्थात् ३० हजार ४१५ हेक्टर, बारामा ४५ हजार ९०० हेक्टरमध्ये ८५ प्रतिशत अर्थात् ३८ हजार ३३५ हेक्टर तथा पर्सामा ५३ हजार ९३८ हेक्टरमध्ये ८० प्रतिशत अर्थात् ४३ हजार १५० हेक्टर क्षेत्रमा धान रोपाइँ भएको छ।
निर्देशनालयका अनुसार मधेश प्रदेशमा कुल पाँच लाख ५२ हजार ७४५.५ हेक्टर खेतीयोग्य जमिन रहेको छ। त्यसमध्ये तीन लाख ८५ हजार ९३३ हेक्टर क्षेत्रमा प्रत्येक वर्ष धान खेती हुँदै आएको छ।
निर्देशनालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माले पछिल्लो साता वर्षा भएपछि धान रोपाइँले गति लिएको बताउनुभयो। आगामी केही दिन नियमित वर्षा भए बाँकी क्षेत्रमा पनि रोपाइँ सम्पन्न हुने उहाँको भनाइ छ।





