जीवनराज दाहाल –
बर्दिबास । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको नेतृत्वमा बर्दिबासका होटलहरूमा गरिएको अनुगमनप्रति महोत्तरीका तीन प्रमुख व्यवसायिक संस्थाले असन्तुष्टि जनाएका छन् ।



होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरी, महोत्तरी चेम्बर अफ कमर्स र बर्दिबास उद्योग वाणिज्य सङ्घले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै अनुगमनको नाममा व्यवसायीलाई अपराधीसरह व्यवहार गरिएको, सार्वजनिक रूपमा बदनाम गरिएको तथा व्यावसायिक वातावरण नै प्रभावित भएको बताएका हुन् ।
संस्थाहरूले कानुनसम्मत, निष्पक्ष र मर्यादित अनुगमनप्रति आफ्नो समर्थन रहेको जनाउँदै मन्त्रीको पदको दुरुपयोग गरी व्यवसायीलाई हतोत्साहित गर्ने गतिविधि तत्काल रोक्न माग गरेका छन् । साथै, यस्ता गतिविधि नरोकिए चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिएका छन् ।






