सुजाता राई
विराटनगर । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरको आयोजनामा कवि निर्मला नेपालको कवितासङ्ग्रह ‘समयका पदचापहरू’ आइतबार एलिट क्लबको सभाहल विराटनगरमा विमोचन गरिएको छ।



प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ गंगा सुवेदीको अतिथ्यतामा कृतिको विमोचन भएको हो।

कार्यक्रममा अग्रज साहित्यकार बलराम पोखरेल, गणेश बज्राचार्य, कविराज न्यौपाने, प्राज्ञ खेम नेपाली र जीवन काफ्लेलगायतका स्रष्टाहरूको बाक्लो उपस्थिति रहेको थियो।
विमोचित कृतिमाथि समीक्षक बाबुराम पोखरेल र प्रतिमा निरौलाले समीक्षा गरेका थिए।
समीक्षकहरूले कवि नेपालको कृतिमा समकालीन समय, जीवनका भोगाइ र सामाजिक विसङ्गति र मानवीय संवेदनालाई कवितामार्फत अभिव्यक्त गरिएको चर्चा गरे।

कार्यक्रममा प्रतिष्ठानका तर्फबाट दिनेश सुवेदीले स्वागत मन्तव्य र समालोचक कविराज न्यौपाने, खेम नेपाली र बलराम पोखरेलले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम सञ्चालन प्रतिष्ठानका महासचिव गोकुल अधिकारीले गरेका थिए। कृतिभित्र विविध विषयका ४४ कविता समावेश छन् । पूर्वान्चल साहित्य प्रतिष्ठानले विगत चार दशकदेखि नेपाली भाषा साहित्यको समृद्धिका लागि कार्य गर्दै आएको छ ।





