जनकपुरधाम । वास्तविक लगानी कारोबारको संरक्षण, मुलुकी देवानी संहिताको प्रभावकारी कार्यान्वयन तथा मिटरब्याजीका नाममा हुने ठगी नियन्त्रण गर्न माग गर्दै जनकपुरधामका साहु–महाजनहरूले ज्ञापनपत्र बुझाएका छन् ।
उनीहरूले सोमबार जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलमार्फत ज्ञापनपत्र बुझाएका हुन् ।



ज्ञापनपत्रमा वास्तविक पीडितले न्याय पाउनुपर्ने विषयमा आफूहरूको पूर्ण समर्थन रहेको उल्लेख गर्दै झुटा दाबी गर्ने व्यक्तिहरूको समेत निष्पक्ष छानबिन हुनुपर्ने माग गरिएको छ ।
पछिल्लो समय मिटरब्याजी पीडितका नाममा भइरहेको आन्दोलनको आडमा केही व्यक्तिले वास्तविक ऋण तिर्ने दायित्वबाट उम्किन खोजेको आरोप पनि ज्ञापनपत्रमा लगाइएको छ ।
आफ्नो मेहनतको कमाइ, पेन्सन वा सम्पत्ति बिक्री गरेर विश्वासका आधारमा ऋण लगानी गरेका व्यक्तिहरू नै उल्टै पीडित बन्ने अवस्था सिर्जना भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । साथै, मुलुकी देवानी संहिता, २०७४ मा लेनदेन, लिखत, ब्याज तथा कानुनी उपचारसम्बन्धी स्पष्ट व्यवस्था रहेकाले त्यसको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिइएको छ ।
ज्ञापनपत्रमा आन्दोलनमा सहभागी सबै व्यक्तिलाई स्वतः पीडित नमान्न र बैंक खाताको विवरण, तमसुक, सावाँ रकमको कारोबार तथा अन्य प्रमाणका आधारमा वास्तविक पीडित र नियतवश ऋण नतिर्न खोज्ने व्यक्तिबीच पहिचान गर्न माग गरिएको छ ।
साहु–महाजनहरूले सरकारसमक्ष मिटरब्याजीसम्बन्धी उजुरीको निष्पक्ष अनुसन्धान, लेनदेनसम्बन्धी विवाद अदालत र प्रचलित कानुनअनुसार समाधान गर्ने व्यवस्था, झुटा उजुरी दिने व्यक्तिमाथि कानुनी कारबाही, वैधानिक रूपमा गरिएको लगानीको सावाँ–ब्याज असुलीको सुनिश्चितता तथा अनुचित लेनदेनसम्बन्धी शाखामार्फत भएका सम्झौताको प्रभावकारी कार्यान्वयन गर्न माग गरेका छन् ।
ज्ञापनपत्रमा नेपाल सरकार मन्त्रिपरिषद्को साउन ६ गतेको निर्णय पुनर्विचार गर्न समेत माग गरिएको छ । एकतर्फी निर्णयले कानुनी राज्यको अवधारणा कमजोर बन्न सक्ने भन्दै कानुनी प्रक्रियाअनुसार भएका कारोबारको संरक्षण गर्न सरकारसँग आग्रह गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै धनुषाका प्रमुख जिल्ला अधिकारी लुइटेलले आफूलाई प्राप्त माग सम्बन्धित निकायसम्म पुर्याउने प्रतिबद्धता जनाउनुभयो । उहाँले वास्तविक पीडितले न्याय पाउनुपर्ने बताउनुभयो ।





