सुनसरीका विभिन्न स्थानमा तेस्रो दिन बुधबार पनि अनिश्चितकालीन कर्फ्यु आदेश जारी रहेको छ। बिहानैदेखि कर्फ्युका कारण बजार, कलकारखाना र सवारीसाधन बन्द हुँदा यस क्षेत्रको जनजीवन प्रभावित भएको छ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले प्रभावित क्षेत्र तथा जिल्लाका १० स्थानीय तहमा कर्फ्यु आदेशलाई निरन्तरता दिएको छ। प्रशासनले धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकाबाहेकका दक्षिणी १० स्थानीय तहमा अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको हो।



सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालको आदेशअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम तोकिएका क्षेत्रमा चार जनाभन्दा बढी व्यक्ति भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धर्नाजस्ता गतिविधि गर्न निषेध गरिएको छ।
प्रशासनका अनुसार इटहरी उपमहानगरपालिका (वडा नं. १६ र १७ अन्तर्गत महेन्द्र राजमार्गको २०० मिटर दायाँ-बायाँ क्षेत्र), रामधुनी नगरपालिका (वडा नं. १ र ५ अन्तर्गत महेन्द्र राजमार्गको २०० मिटर दायाँ-बायाँ क्षेत्र) तथा इनरुवा, दुहबी, भोक्राहा नरसिंह, कोशी, गढी, देवानगन्ज, हरिनगर र बर्जु गाउँपालिकाका सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ।
निषेधाज्ञा वा कर्फ्यु आदेश उल्लङ्घन गर्ने व्यक्तिलाई प्रचलित कानुनबमोजिम एक हजार रुपियाँसम्म जरिवाना वा एक महिनासम्म कैद, अथवा दुवै सजाय हुन सक्ने प्रशासनले जनाएको छ। आदेश विपरीत गतिविधि गरेमा कडा कारबाही गरिने सूचनामार्फत जानकारी गराइएको छ। विगत तीन दिनदेखिको बन्द र तनावका कारण यस क्षेत्रको जनजीवन निकै कष्टकर बनेको छ।





