महोत्तरी । तराईका विभिन्न जिल्लामा देखिएको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै जिल्ला प्रशासन कार्यालय महोत्तरीले सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति–सुरक्षा कायम राख्न जिल्लावासीसँग अपिल गरेको छ।
जिल्ला प्रशासन कार्यालयले बिहीबार अपराह्न जारी गरेको ‘हार्दिक अपिल’मा परापूर्वकालदेखि कायम रहँदै आएको आपसी सद्भाव, भाइचारा र सामाजिक एकता नेपालको महत्त्वपूर्ण शक्ति भएको उल्लेख गर्दै साना असावधानी वा उत्तेजनात्मक गतिविधिले समाजमा नकारात्मक असर पार्न सक्ने भएकाले सबै नागरिकलाई संयमित र जिम्मेवार बन्न आग्रह गरेको छ।



अपिलमा अफवाह, भ्रमपूर्ण सूचना वा उत्तेजनात्मक गतिविधिले समाजको शान्ति र एकतामा असर पार्न सक्ने भन्दै त्यस्ता गतिविधिप्रति सजग रहन सबै पक्षलाई अनुरोध गरिएको छ। सामाजिक सञ्जालमा फैलिएका अपुष्ट भिडियो, तस्बिर तथा सन्देशको सत्यता पुष्टि नगरी विश्वास वा प्रसार नगर्न प्रशासनले आग्रह गरेको छ।
प्रशासनले धर्म, संस्कृति र परम्परामा विविधता भए पनि सबै नागरिकबिचको आपसी सम्मान, सहकार्य र सद्भाव नै समाजको आधार भएको उल्लेख गर्दै एकअर्काको भावना र विश्वासको सम्मान गर्न आग्रह गरेको छ।
अपिलमा घर, आँगन, टोल तथा सार्वजनिक स्थलबाट आपसी सम्मान, मेलमिलाप र एकताको सन्देश प्रवाह गर्न सबैसँग अनुरोध गरिएको छ। विशेषगरी युवाहरूलाई सामाजिक एकता मजबुत बनाउने सकारात्मक भूमिकामा सक्रिय हुन प्रशासनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
यस्तै, समाजमा असमझदारी सिर्जना गर्ने कुनै पनि शंकास्पद गतिविधि देखिएमा तत्काल स्थानीय जनप्रतिनिधि, समाजसेवी वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराई प्रशासनलाई सहयोग गर्न अनुरोध गरिएको छ।
शान्ति, सद्भाव र सामाजिक एकता कायम राख्नु सरकार वा सुरक्षा निकायको मात्र नभई प्रत्येक नागरिकको साझा जिम्मेवारी भएको उल्लेख गर्दै प्रशासनले सुरक्षित, शान्त र सहिष्णु महोत्तरी निर्माणका लागि सबैलाई सहकार्य गर्न आग्रह गरेको छ।






