सर्लाही- सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरबाट प्रहरीले सोमबार बिहानै ठुलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ ।
गाँजासहित दुई जना मानिससमेत पक्राउ परेका छन् । लागुऔषध गाँजाको ओसारपसार भइरहेको सूचना पाएपछि प्रहरी टोली नवलपुरस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि चेक प्वाइन्ट थापेर बसेको थियो ।



सोहीक्रममा सोमबार बिहान ५ बजेतिर पूर्वतर्फ आउँदै गरेको बीआर ०९ एम ३७६६ नम्वरको भारतीय कारबाट एक क्विन्टल नौ किलो लागुऔषध गाँजा बरामद भएको हो । कारको डिकीभित्र लुकाइराखिएको अवस्थामा २३ वटा पोकाभित्र रहेका गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।
गाँजासहित प्रहरीले कारका चालक भारतको सितामढीका २६ वर्षीय दीपक कुमार महतो र सोही कारमा सवार सितामढीकै २५ वर्षीय अमन कुमारलाई पक्राउ गरेको छ । गाँजा कुन ठाउँबाट ल्याइयो भन्ने विषयमा अनुसन्धान भइरहेको डिएसपी गौतमले बताउनुभयो ।





