बर्दिबास । महोत्तरीको चुरे क्षेत्रमा पर्ने गढन्ता खोलामा एक्कासि आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बर्दिबास नगरपालिका–५ का ६२ वर्षीय टंकबहादुर बस्नेत रहेको जिल्ला प्रहरीले जनाएको छ। उहाँ स्थानीयस्तरमा ‘हकवाला बस्नेत’का नामले परिचित हुनुहुन्थ्यो।



पारिवारिक स्रोतका अनुसार बस्नेत मङ्गलबार अपराह्न करिब ३ बजे खोला छेउको खेतमा पानी लगाउन जडान गरिएको विद्युतीय मोटर निकाल्न खोलातर्फ जानुभएको थियो। सोही क्रममा चुरे क्षेत्रबाट एक्कासि आएको बाढीले उहाँलाई बगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
बर्दिबास नगरपालिका–५ का वडाध्यक्ष काहारमान स्याङ्वाका अनुसार लामो समयसम्म घर नफर्किएपछि परिवारका सदस्य र स्थानीयवासीले खोजी थालेका थिए। खोजीका क्रममा घटनाको करिब पाँच घण्टापछि घटनास्थलदेखि करिब तीन किलोमिटर दक्षिणतर्फ खोलामा घोप्टो परेको अवस्थामा उहाँको शव फेला परेको थियो।
घटनाको जानकारी प्राप्त भएपछि अस्थायी प्रहरी पोस्ट माइस्थानबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्कालगायत आवश्यक कानुनी प्रक्रिया पूरा गरेको थियो।
इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक गुरुप्रसाद तिमिल्सिनाले घटनाबारे थप अनुसन्धान भइरहेको बताउनुभयो। प्रहरीले वर्षायाममा चुरे क्षेत्रका खोला तथा नदीमा एक्कासि बाढी आउने जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।





