ढल्केबर। वर्षौँदेखि प्रक्रिया अघि बढेको धनुषाको मिथिला नगरपालिका-ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने चर्चा चलेपछि ढल्केबरका स्थानीय आन्दोलन उत्रेका छन्। प्रस्तावित स्थानमै ट्रमा सेन्टर निर्माण हुनुपर्ने माग गर्दै स्थानीयवासी, जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिले आइतवार साँझ मसाल जुलुस प्रदर्शन गरेका हुन्।
ट्रमा सेन्टर संरक्षण सङ्घर्ष समितिको आह्वानमा निकालिएको मसाल जुलुसमा मिथिला नगरपालिकाका जनप्रतिनिधि, स्थानीयवासी, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा नागरिक समाजका अगुवाको सहभागिता थियो। ढल्केबर बजारबाट निकालिएको जुलुस बजार क्षेत्र परिक्रमा गरी कोणसभामा परिणत भएको थियो।




जुलुसमा सहभागीले ढल्केबरमै ट्रमा सेन्टर निर्माण गर्नुपर्ने, प्रस्तावित आयोजना अन्यत्र सार्न नहुने लगायतका माग राख्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए। लामो समयदेखि प्रक्रिया अघि बढिसकेको आयोजना अन्यत्र सार्ने प्रयास भएको भन्दै उनीहरूले निर्णय सच्याउन सरकारसँग माग गरेका छन्।

सङ्घर्ष समितिका संयोजक तथा मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतोले ढल्केबरमा ट्रमा सेन्टर निर्माणका लागि आवश्यक जग्गाको प्रक्रिया पूरा भइसकेको अवस्थामा आयोजना अन्यत्र सार्ने विषय स्वीकार्य नहुने बताउनुभयो। उहाँका अनुसार ट्रमा सेन्टर निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापनदेखि बजेट विनियोजनसम्मका प्रक्रिया अघि बढिसकेका छन्।
उहाँले भन्नुभयो, “ढल्केबरमा ट्रमा सेन्टर निर्माण गर्ने विषयमा सरकारले वर्षौँदेखि प्रक्रिया अघि बढाएको छ। जग्गा प्राप्तिको काम पूरा भइसकेको छ। यस्तो अवस्थामा आयोजना अन्यत्र सार्ने कुरा स्थानीयका लागि स्वीकार्य हुँदैन।”

सङ्घर्ष समितिका अनुसार मिथिला नगरपालिका–७, साविक ढल्केबर गाविस–२ ‘क’ स्थित कित्ता नम्बर १६९ को करिब चार बिघा ऐलानी जग्गालाई आधार बनाएर सङ्घीय सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा पहिलो पटक ट्रमा सेन्टर निर्माणका लागि बजेट विनियोजन गरेको थियो। सोही आधारमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढाइएको थियो।
ट्रमा सेन्टरका लागि जग्गा प्राप्तिको प्रक्रिया पूरा भइसकेको र लालपुर्जासमेत तयार भइसकेको नगरप्रमुख महतोको भनाइ छ। पूर्व–पश्चिम राजमार्गसँग जोडिएको ढल्केबर दुर्घटनाको जोखिमका दृष्टिले संवेदनशील क्षेत्र भएकाले यहाँ ट्रमा सेन्टरको आवश्यकता रहेको स्थानीयको तर्क छ।

पूर्व–पश्चिम राजमार्ग तथा आसपासका सडकमा हुने दुर्घटनाका घाइतेलाई तत्काल उपचार उपलब्ध गराउन ढल्केबरमा ट्रमा सेन्टर स्थापना महत्वपूर्ण हुने स्थानीयवासीको भनाइ छ। अहिले गम्भीर प्रकृतिका घाइतेलाई थप उपचारका लागि जनकपुरधाम, विराटनगर, काठमाडौँलगायतका स्थानमा पठाउनुपर्ने अवस्था रहेको उनीहरूको दाबी छ।
ढल्केबरमा ट्रमा सेन्टर निर्माण भए धनुषाको उत्तरी क्षेत्रसँगै महोत्तरी, सिरहा, सिन्धुली र आसपासका क्षेत्रका दुर्घटनाका घाइतेले समेत तत्काल उपचार सेवा पाउने स्थानीयको अपेक्षा छ। त्यसैले प्रस्तावित स्थान परिवर्तन गर्ने कुनै पनि निर्णयले स्थानीय स्वास्थ्य सेवाको पहुँचमा प्रत्यक्ष असर पार्ने उनीहरूको भनाइ छ।

यसैबीच ट्रमा सेन्टर ढल्केबरबाट अन्यत्र सार्ने विषयमा सरकारको धारणा अस्पष्ट रहेको भन्दै स्थानीयस्तरमा असन्तुष्टि बढेको हो। गत बुधबार संसद्मा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले लहानमा ट्रमा सेन्टर निर्माण हुने जानकारी गराएपछि ढल्केबरमा विरोध सुरु भएको सङ्घर्ष समितिले जनाएको छ।
मन्त्रीको उक्त अभिव्यक्तिपछि स्थानीयवासीले ढल्केबरका लागि स्वीकृत भनिएको ट्रमा सेन्टर अन्यत्र सार्न लागिएको आशङ्का गरेका थिए। त्यसपछि सङ्घर्ष समितिले चरणबद्ध आन्दोलन घोषणा गरेको हो।
आन्दोलनका कार्यक्रमअन्तर्गत सोमवार ढल्केबरमा पूर्व–पश्चिम राजमार्ग आधा घण्टा चक्काजाम गर्ने समितिले जनाएको छ। त्यसैगरी साउन २६ गते बिहान ११ बजेदेखि दिउँसो १२ बजेसम्म र साउन २७ गते बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म राजमार्गमा चक्काजाम गर्ने कार्यक्रम तय गरिएको नगरप्रमुख महतोले जानकारी दिनुभयो।
समितिले सरकारबाट ढल्केबरमै ट्रमा सेन्टर निर्माण हुने आधिकारिक प्रतिबद्धता नआएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। स्थानीयवासीले आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी समेत दिएका छन्।
तर, यसबीच स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत ढल्केबरमा ट्रमा सेन्टर निर्माण गर्ने सरकारको योजना यथावत् रहेको स्पष्ट पार्नुभएको छ। उहाँले ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर अन्यत्र सार्ने निर्णय नभएको आशयको स्पष्टीकरण दिनुभएको हो।

मन्त्रीको पछिल्लो स्पष्टीकरणपछि ट्रमा सेन्टर अन्यत्र सार्ने विषयमा देखिएको अन्योल केही हदसम्म हट्ने अपेक्षा गरिए पनि स्थानीयवासी भने अझै विश्वस्त हुन सकेका छैनन्। उनीहरूले सामाजिक सञ्जालमा गरिएको स्पष्टीकरणभन्दा सरकारको औपचारिक निर्णय, बजेट तथा निर्माण प्रक्रियाबारे स्पष्ट जानकारी सार्वजनिक गर्न माग गरेका छन्।
नगरप्रमुख महतोले पनि सरकारको पछिल्लो भनाइ सकारात्मक भए पनि ढल्केबरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया कहाँ पुगेको छ भन्नेबारे स्पष्ट कार्ययोजना सार्वजनिक गर्नुपर्ने बताउनुभयो। उहाँले निर्माणस्थल, बजेट, ठेक्का प्रक्रिया तथा निर्माणको समयसीमासहितको आधिकारिक जानकारी स्थानीय तह र सरोकारवालालाई दिनुपर्ने माग गर्नुभयो।
ढल्केबरमा ट्रमा सेन्टर निर्माणको विषय अहिले स्थानीय स्वास्थ्य सेवाको मागसँगै राजनीतिक र सामाजिक सरोकारको विषयसमेत बनेको छ। आयोजना अन्यत्र सार्ने आशङ्कामा स्थानीय राजनीतिक दल र जनप्रतिनिधिसमेत आन्दोलनमा सहभागी भएका छन्।
स्थानीयवासीले वर्षौँदेखि अघि बढाइएको योजना अलपत्र पार्न नहुने भन्दै ढल्केबरमै ट्रमा सेन्टर निर्माणको काम तत्काल अघि बढाउन माग गरेका छन्। सरकारले आफ्नो योजना यथावत् रहेको स्पष्ट पारे पनि त्यसलाई व्यवहारमा कार्यान्वयन गर्दै निर्माण प्रक्रिया अघि बढाउनुपर्ने उनीहरूको जोड छ।
ट्रमा सेन्टर निर्माणको विषयमा देखिएको विवाद समाधान गर्न सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय तह र स्थानीय सरोकारवालाबीच तत्काल संवाद आवश्यक देखिएको छ। सरकारको आधिकारिक निर्णय र निर्माण प्रक्रियाबारे स्पष्टता नआए आन्दोलन थप चर्किन सक्ने सङ्घर्ष समितिले जनाएको छ।





