धनुषा । नेपाली, मैथिली र हिन्दी भाषाका साहित्यकार, भाषाविद् तथा लामो समय त्रिभुवन विश्वविद्यालयमा नेपाली विषय अध्यापन गर्नुभएका वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको निधन भएको छ ।
७९ वर्षीय डा. विमलको मंगलबार बिहान प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका क्रममा निधन भएको परिवारले जनाएको छ। सोमबार रातिसम्म परिवारसँग कुराकानी गरिरहनुभएका उहाँ अचानक अस्वस्थ भएपछि उपचारका लागि अस्पताल लगिएको थियो। उपचारकै क्रममा उहाँको निधन भएको हो।



उहाँको पार्थिव शरीर जनकपुरधाम उपमहानगरपालिका–१० देवीचोकस्थित आफ्नै निवासमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ। उहाँको मंगलबार दिउँसो ३ बजे जनकपुरधामस्थित स्वर्गद्वारीमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ।
डा. विमलको निधनसँगै नेपाली तथा मैथिली साहित्यले लामो र सक्रिय साहित्यिक यात्रा बोकेको एक महत्वपूर्ण स्रष्टा गुमाएको छ। विशेषगरी जनकपुरधाम र मिथिलाको सामाजिक, सांस्कृतिक तथा राजनीतिक जीवनलाई नेपाली साहित्यको आख्यानमा स्थापित गर्ने साहित्यकारका रूपमा उहाँको विशिष्ट पहिचान थियो।
जनकपुरधामको देवीचोकमा विसं २००३ सालतिर जन्मिनुभएका विमलले किशोरावस्थामै साहित्यिक लेखन सुरु गर्नुभएको थियो। करिब १५–१६ वर्षको उमेरमा उहाँको मैथिली कथा ‘मुइल बच्चा’ प्रकाशित भएको विवरण छ। त्यसपछि जनकपुर, मिथिला र मधेशको सामाजिक जीवन, राजनीतिक परिवर्तन, सामाजिक विसङ्गति, असमानता तथा सीमान्तकृत समुदायका समस्या उहाँको लेखनका प्रमुख विषय बने।
विसं २०२९ सालदेखि त्रिभुवन विश्वविद्यालयमा नेपाली विषय अध्यापनसँग जोडिनुभएका डा. विमलले चार दशकभन्दा लामो समय शिक्षणमा बिताउनुभयो। पद्मकन्या क्याम्पस काठमाडौँ, महेन्द्र मोरङ क्याम्पस विराटनगर तथा रामसागर रामस्वरूप बहुमुखी क्याम्पस जनकपुरमा समेत उहाँले अध्यापन गर्नुभएको थियो। भाषाविज्ञानमा विद्यावारिधि गर्नुभएका उहाँ नेपाली, मैथिली र हिन्दी भाषाका अध्येता हुनुहुन्थ्यो।
नेपाली र मैथिली दुवै भाषामा कथा, कविता, गजल, नाटक र समालोचना लगायत विधामा कलम चलाउनुभएका विमलका ‘राजेन्द्र विमलका कथाहरू’, ‘खहरेको तिर्खा’, ‘मिथिलाको इतिहास, संस्कृति र कला परम्परा’, ‘गद्य, पद्य र नाटक’ लगायतका कृति प्रकाशित छन्। मैथिलीमा ‘इतिहासक घाओ’, ‘पचास वर्ष मैथिली कथा’, ‘ई हमरे कथा थिक’, ‘सूर्यास्तसँ पहिने’ लगायतका कृति प्रकाशित भएका छन्।
उहाँका ‘लङ्का दहन’, ‘पोस्टमार्टम’, ‘रातो पासपोर्ट’ लगायतका कथा चर्चित छन्। उहाँको लेखनमा सामाजिक विभेद, राजनीतिक विकृति, गरिबी, उत्पीडन र सीमान्तकृत समुदायका आवाज मुखर रूपमा प्रस्तुत भएका छन्। ‘लङ्का दहन’ स्नातक तहको अनिवार्य नेपाली विषयको पाठ्यक्रममा समेत समावेश भएको थियो।
आफू जन्मिएको र हुर्किएको ठाउँको जीवनलाई साहित्यमा ल्याउनुपर्ने मान्यता राख्ने विमलले जनकपुर र मिथिलाको सामाजिक यथार्थलाई नेपाली साहित्यको मूल प्रवाहसँग जोड्ने काम गर्नुभयो। उहाँका लागि आञ्चलिक साहित्य राष्ट्रिय साहित्यको विपरीत नभई त्यसलाई समृद्ध बनाउने आधार थियो।
नेपाली भाषा र साहित्यमा योगदानका लागि उहाँलाई ‘जगदम्बा–श्री २०६६’ तथा मधेशको जीवन र परिवेशलाई नेपाली आख्यानमा प्रस्तुत गरेको योगदानका लागि ‘मधुपर्क सम्मान २०७६’ प्रदान गरिएको थियो। नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतलगायत संस्थाले पनि उहाँलाई सम्मान गरेका थिए।
उमेरले ७९ वर्ष पुगे पनि उहाँ अन्तिम समयसम्म साहित्यिक तथा बौद्धिक गतिविधिमा सक्रिय रहनुभयो। डा. विमलको निधनसँगै जनकपुरले आफ्नो एउटा महत्वपूर्ण बौद्धिक आवाज गुमाएको छ। शिक्षक, प्राध्यापक, भाषाविद्, कथाकार, कवि, गजलकार, नाटककार र समालोचकका रूपमा उहाँले नेपाली तथा मैथिली साहित्यमा पुर्याएको योगदान लामो समयसम्म स्मरणीय रहनेछ।





