महोत्तरी — मधेश प्रदेश सरकारका विभिन्न मन्त्रालयबाट योजना दिलाइदिने तथा योजना पारिदिने भन्दै ठगी गर्दै आएका पोखराका रामेश्वर पराजुली पक्राउ परेका छन् । कास्कीको पोखरा उपमहानगरपालिका-५ का ३८ वर्षीय पराजुलीलाई गत साउन २७ गते नै प्रहरीले सिरहाबाट पक्राउ गरेको हो ।
सिरहाका योगेन्द्रकुमार यादवले उनीविरुद्ध ७ लाख रुपैयाँको चेक बाउन्स भएको बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता गराएका थिए । तर, पक्राउ परेपछि पराजुलीले २९ गते पीडितसँग लेनदेन गरी मिलापत्र गरेका छन् ।



पीडित यादवका अनुसार मधेश प्रदेश सरकारबाट विकास योजना दिलाइदिने तथा योजना पारिदिने भन्दै पराजुलीले ७ लाख रुपैयाँ लिएका थिए । तर, योजना नपरेपछि यादवले पैसा फिर्ता माग्दा आलटाल गर्दै आएका पराजुलीले चेक दिएका थिए । चेक पनि नसाटिएपछि उनले मुद्दा दर्ता गराएका हुन् ।
सिरहाबाट मुद्दा टुंगिए पनि पराजुलीलाई रिहा नगरी प्रहरीकै गाडीमा शनिबार जिल्ला प्रहरी कार्यालय, महोत्तरी पुर्याएको सिरहाका प्रहरी प्रवक्ता डीएसपी रमेशबहादुर पालले बताए । उनीविरुद्ध महोत्तरीमा ठगी तथा आपराधिक विश्वासघात र बैंकिङ कसुर गरी दुईवटा मुद्दा छन् ।
महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी पञ्चलाल गोलेका अनुसार एकडारा गाउँपालिका-४ दरवेश राय यादवले उनीविरुद्ध ३-३ लाख गरी ६ लाख रुपैयाँ बिगो दाबी गरेर जाहेरी दर्ता गराएका हुन् । मधेशका मन्त्रालयहरूबाट योजना दिलाइदिने भनेर पराजुलीले पैसा लिएको दरवेशको आरोप छ ।




