जनकपुरधाम । बजारमा खाना पकाउने ग्यासको अभाव देखिएका बेला ग्यास व्यवसायी संघ धनुषाका अध्यक्ष फुलदेव पण्डितको व्यवसायिक प्रतिष्ठानबाट ठूलो परिमाणमा ग्यास बरामद भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका बजरंगचोकस्थित पण्डितले सञ्चालन गर्दै आएको सागर ट्रेडर्सबाट १३१ वटा मनोज कम्पनीका भरिएका ग्यास सिलिन्डर बरामद गरिएको हो ।



उपभोक्ताबाट ग्यास लुकाएर राखिएको गुनासो आएपछि नेपाल आयल निगम महेन्द्रनगर डिपोबाट रामराज सिंहको नेतृत्वमा खटिएको अनुगमन टोलीले सागर ट्रेडर्समा अनुगमन गरेको थियो ।
टोलीले पसलको सटर बन्द रहेको अवस्थामा छापा मार्दा १३१ वटा भरिएका ग्यास सिलिन्डर फेला पारेको जनाएको छ ।
अनुगमन टोलीका अनुसार बजारमा ग्यासको अभाव भइरहेका बेला उपभोक्तालाई बिक्री वितरण नगरी सटर बन्द गरेर ठूलो संख्यामा सिलिन्डर राखिएको पाइएको हो ।
टोलीका एक कर्मचारीले उपभोक्तालाई ग्यास उपलब्ध नगराई सटरमा ताला लगाएर सिलिन्डर भण्डारण गरिएको अवस्थालाई कालोबजारीको आशंकाका रूपमा लिइएको बताए ।
उनका अनुसार घटनाबारे जिल्ला प्रशासन कार्यालय धनुषाको समन्वयमा आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ ।
यता, सागर ट्रेडर्सका सञ्चालकसमेत रहेका ग्यास व्यवसायी संघ धनुषाका अध्यक्ष पण्डितले भने आफूले कालोबजारी नगरेको दाबी गरेका छन् ।
उपभोक्तालाई वितरण गर्नकै लागि ग्यास राखिएको र ग्राहकको नामावली संकलन गरेर बिक्री वितरण गर्दै आएको उनको भनाइ छ ।
पण्डितले वितरणका लागि राखिएको ग्यासमा अनुगमन टोलीले छापा मारेको भन्दै आफूले ग्यास लुकाएर राखेको आरोप अस्वीकार गरेका छन् ।




