बर्दिबास,महोत्तरी – नेपाल प्रेस युनियन महोत्तरी शाखाको अध्यक्षमा सन्तोष सिंह पुनः सर्वसम्मत चयन हुनुभएको छ। शुक्रबार बर्दिबासस्थित गौतम होटलमा सम्पन्न युनियनको आठौँ जिल्ला अधिवेशनले सिंहको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
अध्यक्षमा पुनः चयन भएपछि सिंहले पत्रकारको पेसागत हकहित, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारको क्षमता विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।




उहाँले पत्रकारिता क्षेत्रलाई थप मर्यादित, जिम्मेवार र व्यावसायिक बनाउन सबै पत्रकारबीच सहकार्य, एकता र समन्वय आवश्यक रहेको बताउनुभयो। “नेपाल प्रेस युनियनलाई अझ बलियो, एकताबद्ध र प्रभावकारी संगठनका रूपमा अघि बढाउनेछौँ। पत्रकारका पेसागत समस्या, सुरक्षा र हकहितका विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै समाधानका लागि निरन्तर पहल गर्नेछौँ,” उहाँले भन्नुभयो।

अध्यक्ष सिंहले महोत्तरीको पत्रकारिता क्षेत्रको विकासका लागि पत्रकारको क्षमता अभिवृद्धि, तालिम, अध्ययन तथा अनुसन्धानमा जोड दिइने बताउनुभयो। उहाँले पत्रकारिताको व्यावसायिक मर्यादा कायम राख्दै सत्य, तथ्य र निष्पक्षतामा आधारित पत्रकारितालाई प्रोत्साहन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

अधिवेशनबाट उपाध्यक्षमा संजितकुमार मण्डल, महिला उपाध्यक्षमा प्रेमाकुमारी धिमिरे, सचिवमा नवीन चौधरी, कोषाध्यक्षमा माधव पौडेल र सहसचिवमा धर्वेन्द्र कुमार यादव (यदुवंशी) सर्वसम्मत चयन हुनुभएको छ।

त्यसैगरी सदस्यमा अनुरागकुमार यादव, रोशनकुमार यादव, मन्जित राम, वैभव चौधरी र पवन राम चयन हुनुभएको छ।
अधिवेशनमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झा, नेपाल प्रेस युनियनका उपाध्यक्ष अनिल कर्ण, महासचिव दिलीप पौडेल, सचिव अजित तिवारी, प्रदेश अध्यक्ष सत्यप्रसाद श्रेष्ठ, अधिवेशन केन्द्रीय प्रतिनिधि सकिन्द्र पासवान, केन्द्रीय सदस्य गणेशराज रिजाल, पूर्वअध्यक्षद्वय रवीन्द्र उप्रेती र कमलेश मण्डललगायतको उपस्थिति थियो।

अधिवेशनमा शाखाका सचिव नवीन चौधरीले प्रस्तुत गर्नुभएको सांगठनिक तथा आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको थियो।
अधिवेशनले पत्रकारको पेसागत सुरक्षा, प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारको हकहित तथा पत्रकारिता क्षेत्रको संस्थागत विकासका विषयलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको छ।

नवनिर्वाचित अध्यक्ष सिंहले नयाँ कार्यसमितिलाई सबै पत्रकारको साझा संस्था बनाउँदै सहकार्य र समन्वयका माध्यमबाट संगठनलाई थप प्रभावकारी बनाउने बताउनुभयो। उहाँले अधिवेशनबाट प्राप्त जिम्मेवारीलाई अवसरसँगै चुनौतीका रूपमा लिँदै सबैको सुझाव, सहयोग र सहकार्यबाट युनियनलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।














