जलेश्वर — सीमा क्षेत्रमा हुने अपराध, तस्करी तथा अवैध गतिविधि नियन्त्रणसँगै विपद्का समयमा आपसी समन्वयलाई प्रभावकारी बनाउन नेपाल र भारतका सीमावर्ती जिल्लाबीच सहकार्य सुदृढ गर्ने विषयमा छलफल हुने भएको छ । नेपाल–भारत सीमा जिल्ला समन्वय समिति (बीडीसीसी) को बैठकमा सीमा सुरक्षा तथा समन्वयका विभिन्न विषयलाई प्राथमिकताका साथ छलफल गरिने भएको हो ।
महottरीको जलेश्वरस्थित सिटी हलमा शनिबार हुने बैठकमा नेपालतर्फ महोत्तरी, सर्लाही र रौतहट तथा भारततर्फ बिहारको सीतामढी जिल्लाका सुरक्षा तथा प्रशासनिक अधिकारी सहभागी हुने प्रस्तावित कार्यसूचीमा उल्लेख छ । बैठकमा अघिल्लो बैठकका निर्णयको समीक्षा, समसामयिक सुरक्षा चुनौती, सुरक्षा निकायबीच समन्वय, सीमापार अपराध नियन्त्रणलगायत विषयमा छलफल गरिनेछ ।



बैठकमा अघिल्लो पटक भएका सहमति तथा निर्णयको कार्यान्वयन अवस्था समीक्षा गरी बाँकी रहेका तथा समाधान हुन नसकेका विषय पहिचान गरिनेछ । त्यसका लागि जिम्मेवार निकाय र कार्यसम्पादनको समयसीमासहितको कार्ययोजना तय गर्ने विषयसमेत छलफलको कार्यसूचीमा राखिएको छ ।

सीमा क्षेत्रमा देखिएका वर्तमान सुरक्षा चुनौतीको संयुक्त मूल्याङ्कन गर्दै शङ्कास्पद व्यक्ति, आपराधिक समूह तथा अतिवादी गतिविधिमा संलग्न व्यक्तिको सीमापार आवतजावत रोक्ने विषयमा पनि छलफल हुने भएको छ । आतङ्कवाद, अतिवाद तथा संगठित अपराध नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, भारतीय सशस्त्र सीमा बल (एसएसबी) र भारतीय प्रहरीबीच सञ्चालनगत समन्वय थप प्रभावकारी बनाउने विषय पनि बैठकमा उठाइनेछ ।
सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीबीच प्रत्यक्ष तथा नियमित सम्पर्क संयन्त्र स्थापना गर्ने र आकस्मिक अवस्था, नागरिक अशान्ति वा ठूला सुरक्षा घटनाका समयमा तत्काल समन्वय गर्ने प्रोटोकल निर्माण तथा सुधार गर्ने विषयमा समेत छलफल हुनेछ ।

मानव बेचबिखन, अवैध आप्रवासन तथा तेस्रो मुलुकतर्फको अनधिकृत आवतजावत नियन्त्रणलाई पनि बैठकले प्राथमिकतामा राखेको छ । त्यस्तै लागुऔषध तथा मनोद्वीपक पदार्थको सीमापार कारोबार नियन्त्रण, अवैध हातहतियार तथा गोलीगठ्ठाको ओसारपसार रोकथाम, चोरीका सवारीसाधन तथा अन्य चोरीका सम्पत्ति सीमापार लैजाने गतिविधि नियन्त्रणका विषयमा संयुक्त पहल गर्नेबारे छलफल हुने कार्यसूचीमा उल्लेख छ ।
सीमा क्षेत्रमा हुने तस्करी तथा अवैध व्यापार नियन्त्रणका लागि अवैध आवतजावत हुने प्रमुख मार्ग र वैकल्पिक बाटो पहिचान गर्ने तथा संवेदनशील नाकामा निगरानी बढाउने विषयसमेत बैठकमा उठाइनेछ । भन्सार छली तथा राजस्व चुहावट नियन्त्रणमा दुवै देशका सम्बन्धित निकायबीच सहयोग र समन्वय बढाउने प्रस्ताव पनि कार्यसूचीमा छ ।
नेपाल–भारत सीमा क्षेत्रमा बाढी तथा अन्य प्राकृतिक विपद्का समयमा पूर्वसूचना आदानप्रदान र संयुक्त उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल हुने भएको छ । नदीको जलस्तर, बाढीको जोखिम तथा खराब मौसमसम्बन्धी सूचना तत्काल आदानप्रदान गर्ने पूर्वसूचना प्रणाली सुदृढ गर्ने र बाढी, आगलागी तथा भूकम्पजस्ता विपद्का समयमा संयुक्त खोज तथा उद्धार कार्य सञ्चालन गर्ने विषय कार्यसूचीमा राखिएको छ ।
सीमा स्तम्भको नियमित निरीक्षण, मर्मत तथा संरक्षणका विषयमा समेत दुवै पक्षबीच समन्वय गरिने भएको छ । क्षतिग्रस्त, हराएका, डुबेका वा स्थान परिवर्तन भएका सीमा स्तम्भबारे सम्बन्धित द्विपक्षीय संयन्त्रमा जानकारी गराउने तथा दशगजा क्षेत्रमा हुने अनधिकृत निर्माण र अतिक्रमण रोक्ने विषयमा छलफल हुने जनाइएको छ ।
त्यसैगरी सक्रिय अपराधी, फरार अभियुक्त तथा उच्च प्राथमिकताका अपराधीबारे तत्काल सूचना आदानप्रदान गर्ने, दुवै पक्षका सम्पर्क व्यक्ति तथा आपत्कालीन टेलिफोन नम्बर अद्यावधिक गर्ने र संवेदनशील सीमा क्षेत्रमा संयुक्त गस्ती सञ्चालन गर्ने विषय पनि बैठकको कार्यसूचीमा समेटिएको छ ।
सीमा नाकामा रातिको निगरानी, चेकपोस्ट तथा आवश्यकताअनुसार अस्थायी अवरोधक राखेर निगरानी बढाउने विषयमा समेत छलफल गरिनेछ । बैठकमा सीमावर्ती क्षेत्रमा कार्यरत सुरक्षा निकायले भोगिरहेका सञ्चालनगत समस्या, कार्यान्वयनका लागि आवश्यक समयसीमा र जिम्मेवार निकाय तोक्ने तथा नयाँ सुरक्षा चुनौतीबारे समेत छलफल गर्ने प्रस्ताव गरिएको छ ।
नेपाल–भारत सीमावर्ती जिल्लाबीच नियमित रूपमा हुने यस्तो समन्वय बैठकले सीमा सुरक्षा, अपराध नियन्त्रण तथा विपद् व्यवस्थापनमा दुवै देशका स्थानीय प्रशासन र सुरक्षा निकायबीच सहकार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।




