महोत्तरी – रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि औरही नगरपालिकाले ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। औरही नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । नगर प्रमुख प्रदीपकुमार खड्काले विपद्को कठिन घडीमा भोटेकोशी बाढीबाट प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै नगरपालिकाको तर्फबाट उक्त रकम सहयोग गर्ने घोषणा गर्नुभएको हो ।
नगरपालिकाले विपद्मा परेका नागरिकको उद्धार तथा राहतका लागि सहयोग आवश्यक रहेको भन्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम उपलब्ध गराउने जनाएको छ । नगर प्रमुख खड्काले विपद्बाट प्रभावित परिवारलाई सहयोग गर्न स्थानीय सरकारको साथ र सहयोग निरन्तर रहने बताउनुभएको छ ।



यसैबीच भोटेकोशी नदीमा आएको आकस्मिक बाढीपछि औरही नगरपालिका–९ का सचिन कुमार यादव सम्पर्कविहीन भएको नगर प्रमुख प्रदिप कुमार खड्काले बताउनुभयो। नगर प्रमुख खड्काका अनुसार यादव बाढीको घटनापछि परिवार तथा आफन्तको सम्पर्कमा नआएको र उनको अवस्था अझै अज्ञात रहेको छ। उनको खोजीका लागि सम्बन्धित सुरक्षा निकाय तथा सरोकारवाला निकायसँग समन्वय भइरहेको उहाँले बताउनुभयो। “औरही नगरपालिका–९ का सचिन कुमार यादव सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको छ। उहाँको अवस्था पत्ता लगाउन सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिरहेका छौँ।
खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन सबै पक्षलाई आग्रह गर्दछु,” नगर प्रमुख खड्काले भन्नुभयो । उहाँले सम्पर्कविहीन यादवको खोजीमा सहयोग गर्न स्थानीयवासी तथा सम्बन्धित सबैलाई आग्रह गर्दै विपद्को समयमा उच्च सतर्कता अपनाउनसमेत अनुरोध गर्नुभएको छ।




