सुजाता राई
काठमाडौँ कवि मधु पाठकको नवीनतम् कविताकृति ‘अग्नि–आलाप’ प्रकाशित भएको छ।
नेपाल स्रष्टा समाजद्वारा प्रकाशित उक्त कवितासङ्ग्रहमा विषयगत विविधताका ३५ वटा कविता समावेश छन्।
लामो समयसम्म रेडियो साहित्यिक पत्रकारका रूपमा समेत क्रियाशील पाठकका कवितामा कथ्यगत विविधतासँगै साङ्केतिक रूपमा आशावादी जीवनदृष्टि प्रस्तुत गरिएको छ। स्वाभाविक बिम्बको प्रयोगले कविताका भावलाई थप सबल बनाएको पाइन्छ।
प्रा.डा. लक्ष्मणप्रसाद गौतमका अनुसार, ‘संवेदनामा प्रेम, मातृत्व, करुणा, अनुभूति र हार्दिक पक्षको गहिरो अभिव्यक्ति पाइन्छ भने वर्तमान युगजीवनका यथार्थ, देशले भोग्नुपरेका विडम्बना र देश दुखेका बिम्ब, मान्छेमा हराउँदै जान थालेको संवेदना र मानवता तथा जनताले भोग्नुपरेका त्रासद परिस्थितिसमेत यी कविताका विषय बनेका छन्। आफ्ना अन्तर्हृदय र अन्तरचेतनाका आवाजलाई निश्छल रूपमा अभिव्यक्त गर्नु यस सङ्ग्रहका कविको विशेषता हो।’
मधुका कविताबारे श्रीओम श्रेष्ठ ‘रोदन’ भन्छन्, ‘प्रत्येक कविताले एउटा कथालाई काव्यात्मक रूपमा पस्कने कविको कला प्रशंसनीय छ।’
समय संवेदनालाई मिहिन ढङ्गले बुझेर सिर्जित पाठकका कवितामा विविध प्रसङ्गलाई सम्बोधन गरिएको कवि ऋषभदेव घिमिरेले बताएका छन्।







