महोत्तरी – महोत्तरीको गौशाला नगरपालिका–५ स्थित इलाका प्रशासन कार्यालय गौशालाको परिसर बाहिर कम्प्युटर पसल सञ्चालन गर्दै आएका दुई जनालाई प्रहरीले सेवाग्राहीसँग राहदानी बनाउन रकम लिएको आरोपमा नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय गौशालाका अनुसार बुधबार दिउँसो करिब १ बजे सेवाग्राहीसँग राहदानी बनाउन रु. ६ हजार लिएको मौखिक आरोपपछि कम्प्युटर पसल सञ्चालक संजयकुमार मण्डल र मनोहर यादवलाई नियन्त्रणमा लिइएको हो।




इलाका प्रशासन कार्यालय गौशालामा विचौलियामार्फत सेवाग्राहीबाट रकम असुल्ने गरेको जनगुनासो आएपछि महोत्तरी क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य प्रमोदकुमार महतो, इलाका प्रशासन कार्यालय गौशालाका प्रमुख सर्वजित झा, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर अध्यक्ष ज्ञानेन्द्रप्रसाद गुप्तासहितको टोलीले कार्यालयमा छड्के अनुगमन गरेको थियो।

अनुगमनका क्रममा मण्डल र यादवलाई नियन्त्रणमा लिइएको इलाका प्रशासन कार्यालय गौशालाका शाखा अधिकृतले जानकारी दिनुभयो।नियन्त्रणमा लिइएका दुवै जनामाथि लागेको आरोप पुष्टि भइसकेको छैन।
घटनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय गौशालाले थप अनुसन्धान गरिरहेको जनाएको छ।






