सुजाता राई
विराटनगर । साना तथा मझौला व्यवसायीलाई सूचना, सेवा तथा व्यावसायिक अवसरमा सहज पहुँच पुर्याउने उद्देश्यले विराटनगरमा अन्तरक्रिया कार्यक्रम बुधबार रुबिज होटेलमा सम्पन्न भएको छ।



साना तथा मझौला व्यवसायी महासंघ नेपाल (F.S.M.E) कोशी प्रदेशको आयोजना तथा उदय परियोजना र आर्थिक मामिला तथा योजना मन्त्रालयको संयोजनमा कार्यक्रम आयोजना गरिएको हो।
व्यवसायी महासंघ मोरङका जिल्ला अध्यक्ष अर्जुन श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका ३० भन्दा बढी व्यवसायीको सहभागिता थियो।
कार्यक्रममा बोल्दै कोशी प्रदेश सचिव दिनेश भक्त श्रेष्ठले प्रदेशको समग्र आर्थिक विकासमा साना तथा मझौला उद्यमको योगदान महत्वपूर्ण रहेको, उनले व्यवसायीका समस्या सम्बोधन गर्दै उद्यममैत्री नीति निर्माण र कार्यान्वयनमा सबै तहबाट पहल आवश्यक रहेको बताए।

कार्यक्रमका प्रमुख अतिथि उदय परियोजनाका टिम लिडर अरुण राणाले उदय परियोजनाले गर्ने प्रक्रियाबारे जानकारी दिए।
त्यस्तै, बीडीएसपीका तर्फबाट कृष्ण ढुङ्गानाले मझौला व्यवसायीका लागि उपलब्ध सेवा तथा सुविधाबारे जानकारी गराए। उनले व्यवसायीले राज्य तथा सम्बन्धित निकायबाट उपलब्ध सेवाको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा F.S.M.E नेपाल महिला उद्यमी समितिकी केन्द्रीय सभापति राधिका पन्थीलगायत विभिन्न पेसा तथा व्यवसायमा आबद्ध साना तथा मझौला व्यवसायीको सहभागिता थियो। कार्यक्रमको सञ्चालन सुजाता राईले गरेकी थिइन्।





