ढल्केवर । धनुषाको मिथिला नगरपालिकामा सञ्चालित संस्थागत विद्यालयहरूको संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मिथिला नगरपालिकाले भोटेकोसी बाढीपहिरो प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पु¥याउन ८ लाख ८ हजार १०३ रुपैयाँ सहयोग गरेको छ ।
प्याब्सन मिथिला नगरपालिकाका अध्यक्ष रुद्रराज घिमिरेका अनुसार नगर क्षेत्रमा सञ्चालित १५ वटा संस्थागत विद्यालयले रकम संकलन गरी सहयोग गरेका हुन् ।



संकलित रकम प्याब्सनको केन्द्रीय कार्यालयमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएकाले प्याब्सन धनुषाका अध्यक्ष नवलकिशोर यादवलाई रकम हस्तान्तरण गरिएको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।
उहाँका अनुसार सहयोग गर्ने विद्यालयमध्ये चिल्ड्रेन गार्डेनले १ लाख ५१ हजार १११ रुपैयाँ, न्यू होराइजनले १ लाख २० हजार १०५ रुपैयाँ, लालगढ नमूना विद्यालयले १ लाख १६ हजार १५१ रुपैयाँ, सनफ्लावरले १ लाख १६ हजार १११ रुपैयाँ, विनायकले १ लाख १४० रुपैयाँ सहयोग गरेका छन् ।
त्यस्तै जनक इन्टरनेशनल एकेडेमीले ४३ हजार १५५ रुपैयाँ, ढल्केवर एकेडेमीले ४० हजार ५७० रुपैयाँ, नवदुर्गाले २६ हजार ५७५ रुपैयाँ, मिथिला शिक्षा सदनले २५ हजार ५५५ रुपैयाँ, ओसिस एकेडेमीले २७ हजार ५०५ रुपैयाँ, रामजानकी शिक्षा सदनले २१ हजार १२५ रुपैयाँ र नवक्षितिजले २० हजार रुपैयाँ सहयोग गरेका छन् ।
बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि निजी विद्यालय क्षेत्रले पनि आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको अध्यक्ष घिमिरेले बताउनुभयो ।
रकम हस्तान्तरण कार्यक्रममा प्याब्सन मधेश प्रदेशका अध्यक्ष गणेश साहलगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।




