महोत्तरी – बर्दिबासमा शुक्रबार कलश यात्रासहित श्रीकृष्णाष्टमी पूजा सुरु भएको छ। गोपाल सेवा समिति, नगर कार्यसमिति बर्दिबासको आयोजनामा निकालिएको कलश यात्रासँगै यस वर्षको श्रीकृष्णाष्टमी पूजा सुरु गरिएको हो।

बर्दिबास चोकबाट सुरु भएको कलश यात्रा लच्का हुँदै रातु खोलासम्म पुगेको थियो। यात्रामा गोपालवंशी परिवारका सदस्य तथा स्थानीय श्रद्धालु भक्तजन गरी करिब १५० देखि २०० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।



रातु खोलामा पुगेपछि सहभागीले पवित्र जल सङ्कलन गरी कलशमा राखेका थिए। त्यसपछि धार्मिक विधिअनुसार पूजा–आराधना गरी कार्यक्रम सम्पन्न गरिएको थियो। कलश यात्रामा बालबालिका, युवा, महिला तथा ज्येष्ठ नागरिकको समेत सहभागिता रहेको थियो।

गोपाल सेवा समिति, नगर कार्यसमिति बर्दिबासका पदाधिकारी विनोद यादवले धार्मिक आस्था र सांस्कृतिक परम्परासँग जोडिएको श्रीकृष्णाष्टमी पर्वलाई सामाजिक एकता र आपसी सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले मनाउन लागिएको बताउनुभयो। उहाँका अनुसार पर्वका अवसरमा तीन दिनसम्म विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।

समितिले विगत चार वर्षदेखि बर्दिबासमा श्रीकृष्णाष्टमी पर्व मनाउँदै आएको जनाएको छ। यस वर्ष पूजा–आराधनासँगै भजन–कीर्तनलगायतका कार्यक्रमसमेत आयोजना गरिने आयोजकले जनाएको छ।







