सुजाता राई
विराटनगर । श्रीकृष्ण जन्माष्टमीको अवसरमा स्वर संगम संगीतालय विराटनगरको आयोजनामा भजन श्रवण तथा प्रसाद ग्रहण कार्यक्रम शुक्रबार संगीतालयकै भवनमा सम्पन्न भएको छ।



संगीतालयका अध्यक्ष कुशेश्वर राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ कथावाचक पण्डित योगेश भण्डारीको प्रमुख अतिथ्यतामा लक्ष्मीनारायण मन्दिरका गुरु कुमार खतिवडा र वरिष्ठ गायिका लोचन भट्टराई विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा समाजसेवी श्याम पौडेल, केशव पौडेल,सरस्वती खरेल तथा साहित्यकारहरू शिवनारायण सिंगल, बाबुराम पोखरेल, हरि कट्टेल, शारदा भट्टराई, लक्ष्मी योग्मी (चौधरी), लक्ष्मी रायामाझी, सुजाता राई, कृष्ण अट्ल, अंशु बर्मालगायत पाथी भारादेवी माता धर्माध्याम टिम समेत सहभागिता रहेको थियो।
संयोगवश श्रीकृष्ण जन्माष्टमीकै दिन संगीतालयका अध्यक्ष तथा गुरु कुशेश्वर राईको जन्मदिन परेकाले कार्यक्रममा उपस्थित अतिथि, सहभागी तथा उनका चेला–प्रशिक्षार्थीहरूले उनलाई जन्मदिनको शुभकामना प्रदान गरे।

कार्यक्रममा वरिष्ठ गायिका लोचन भट्टराईको विशेष प्रस्तुति रहेको थियो। उनले गुरु राईलाई जन्मदिनको शुभकामना दिँदै सुमधुर स्वरमा भजन तथा गीत प्रस्तुत गरेकी थिइन्। उनको प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक र उल्लासमय बनाएको सहभागीहरूले बताएका छन्।
कार्यक्रमको सञ्चालन महिमा शर्माले गरेकी थिइन्। कार्यक्रममा विभिन्न क्षेत्रका करिब ६० जनाभन्दा बढीको सहभागिता रहेको थियो। कार्यक्रममा संगीतलयका प्रशिक्षार्थीहरुको मिठा र सुन्दर प्रस्तुति सँगै सहभागीलाई प्रसादसमेत वितरण गरिएको थियो।




