महोत्तरी- लामो समयदेखि पर्याप्त वर्षा नहुँदा महोत्तरीको औरही नगरपालिका तथा आसपासका क्षेत्रमा धान, उखु र तरकारी खेती प्रभावित हुन थालेपछि किसान चिन्तित भएका छन् । असारमा रोपिएको धान भदौ महिना सकिन लाग्दासमेत पर्याप्त पानी नपाउँदा कतिपय खेतमा धानका बोट पहेँलिन थालेका छन् । केही स्थानमा माटो चर्किन थालेको र बालीमा रोग तथा कीराको प्रकोप देखिन थालेको किसानले बताएका छन् । वर्षे पानीमा निर्भर किसानका लागि लामो समयसम्मको खडेरी चुनौती बनेको छ ।
सिँचाइ सुविधा भएका किसानले स्यालो ट्युबेल, मोटर तथा पम्पसेटको प्रयोग गरी बाली जोगाउने प्रयास गरे पनि अधिकांश किसान अझै आकाशे पानीकै भरमा छन् । विद्युत् सुविधा नभएका क्षेत्रमा डिजेल पम्प प्रयोग गर्नुपर्ने भएकाले सिँचाइको लागतसमेत बढेको किसानको भनाइ छ ।




औरही नगरपालिका–२ का किसान दिनेश यादवले यस वर्ष धानबाट अपेक्षित उत्पादन हुनेमा आशंका व्यक्त गर्नुभयो । करिब दुई बिघा क्षेत्रफलमा हरेक वर्ष धान खेती गर्दै आउनुभएका उहाँले धानको उत्पादनबाट परिवारको खाद्यान्न र घरखर्च व्यवस्थापन गर्दै आउनुभएको छ । “धान रोप्दा समयमै पानी पर्छ र बाली राम्रो हुन्छ भन्ने आशा थियो । तर भदौ सकिन लाग्दासमेत पर्याप्त वर्षा भएन । धानका बोट पहेँलिन थालेका छन् र कतिपय ठाउँमा रोगसमेत देखिएको छ,” उहाँले भन्नुभयो, “अब पनि पर्याप्त वर्षा भएन भने उत्पादनमा ठूलो कमी आउने चिन्ता छ ।” धानसँगै उखु खेतीमा समेत पानीको अभाव देखिन थालेको उहाँले बताउनुभयो । उखुमा रस भरिने समयमा पर्याप्त चिस्यान आवश्यक पर्ने भए पनि वर्षा नहुँदा बोट सुक्न थालेको उहाँको भनाइ छ । मोटरबाट पानी तानेर सिँचाइ गर्ने प्रयास गरे पनि सबै किसानले नियमित सिँचाइ गर्न सक्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।
औरही नगरपालिका–२ कै किसान घनश्याम यादवले खेतीमा गरेको लगानी जोखिममा परेको बताउनुभयो । धान खेतीका लागि बिउ, मल, मजदुरी र जोताइमा ठूलो रकम खर्च भइसकेको अवस्थामा पानीको अभावले उत्पादन घटे किसानलाई लगानी उठाउनसमेत समस्या हुने उहाँको भनाइ छ । “किसानले ऋण गरेर भए पनि खेतीमा लगानी गरेको हुन्छ । उत्पादन राम्रो भयो भने ऋण तिर्न र परिवारको खर्च चलाउन सहज हुन्छ । तर पानीकै अभावमा बाली कमजोर भयो भने ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने हुन्छ,” उहाँले भन्नुभयो ।
गौशाला नगरपालिका–१० बटौवाका किसान मनिकालाल महतोले वर्षा नहुँदा तरकारी खेतीमा समेत असर परेको बताउनुभयो । तरकारी बालीमा नियमित सिँचाइ आवश्यक पर्ने भए पनि पानीको अभावमा बोटको वृद्धि र उत्पादन प्रभावित हुन थालेको उहाँले बताउनुभयो । मोटर तथा पम्पसेटबाट पानी तानेर सिँचाइ गरिए पनि सबै बालीमा आवश्यक मात्रामा पानी पुर्याउन नसकिएको उहाँको भनाइ छ । डिजेलको मूल्यका कारण सिँचाइ खर्च बढेकाले सरकारले विद्युत् महसुलमा सहुलियत तथा डिजेलमा अनुदान दिनुपर्ने उहाँले माग गर्नुभयो ।
औरही नगरपालिकाको कृषि शाखाकी नायब प्राविधिक सहायक कविता विष्ट सङ्ग्रौलाका अनुसार लामो समयसम्म पर्याप्त वर्षा नहुँदा धान, उखु र तरकारी बालीमा असर पर्न सक्छ । विशेषगरी सिँचाइ सुविधा नभएका र वर्षे पानीमा निर्भर किसान बढी प्रभावित हुने उहाँले बताउनुभयो । “धानको वृद्धि र उत्पादनका लागि महत्वपूर्ण चरणमा पर्याप्त चिस्यान आवश्यक हुन्छ । लामो समय पानी नपर्दा बोट पहेँलिने, वृद्धि रोकिने तथा रोग र कीराको प्रकोप बढ्न सक्छ,” उहाँले भन्नुभयो, “समयमै पर्याप्त वर्षा भयो भने प्रभावित बालीलाई केही हदसम्म सुधार गर्न सकिन्छ ।” उहाँले किसानलाई उपलब्ध पानीको उचित व्यवस्थापन गरी आवश्यकताअनुसार सिँचाइ गर्न तथा रोग वा कीराको समस्या देखिए कृषि प्राविधिकको सल्लाह लिएर मात्र विषादी प्रयोग गर्न सुझाव दिनुभयो ।

किसानले तत्काल वैकल्पिक सिँचाइको व्यवस्था, विद्युत् महसुलमा सहुलियत, डिजेलमा अनुदान तथा प्राविधिक सहयोग उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । वर्षामा मात्र निर्भर कृषि प्रणालीका कारण हरेक वर्ष मौसमजन्य जोखिम बढ्दै गएकाले दीर्घकालीन रूपमा सिँचाइ पूर्वाधार विस्तार, भूमिगत पानीको व्यवस्थापन र पानी संरक्षणमा जोड दिनुपर्ने किसानको भनाइ छ । भदौ महिना सकिन लाग्दासमेत पर्याप्त वर्षा नभए धान, उखु तथा तरकारीको उत्पादन घट्ने जोखिम बढेको छ ।
यसले किसानको उत्पादन मात्र नभई खेतीमा गरिएको लगानी, आम्दानी र खाद्य सुरक्षामा समेत असर पार्न सक्ने देखिएको छ ।




