महोत्तरी – महोत्तरीमा १३ दिनदेखि बेपत्ता एक युवकको हत्या गरी शव टुक्राटुक्रा पारेर सेफ्टी ट्यांकीमा लुकाएको अवस्थामा फेला परेको छ।भंगहा नगरपालिका–६ बिर्जौनी टोलका २५ वर्षीय विवेक सरदारको शव बलवा नगरपालिका–७ बनौटाका अशोक ठाकुरको घरको शौचालयको सेफ्टी ट्यांकीभित्र फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शव टुक्राटुक्रा पारेर सेफ्टी ट्यांकीमा राखिएको र त्यसमाथि सिमेन्ट–बालुवाले पलास्टर गरिएको अवस्थामा भेटिएको हो।विवेक रक्षाबन्धनको दिनदेखि बेपत्ता भएका थिए। परिवारजनले उनको खोजी गर्दै प्रहरीलाई समेत जानकारी गराएका थिए। अनुसन्धानका क्रममा विवेकको अन्तिम मोबाइल लोकेसन घटनास्थल आसपास देखिएको र उनको अन्तिम फोन कल ठाकुरका छोरा दिपेन्द्र ठाकुरकी श्रीमतीको नम्बरमा देखिएको प्रहरी स्रोतले जनाएको छ।



घटनामा संलग्न रहेको आशंकामा प्रहरीले घरधनी अशोक ठाकुर र उनका छोरा दिपेन्द्र ठाकुरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा उनीहरूले शव सेफ्टी ट्यांकीमा लुकाएको बताएपछि प्रहरी घटनास्थलमा पुगेर शव बरामद गरेको हो।
दिपेन्द्रको ससुराली भंगहा नगरपालिका–७ संग्रामपुरमा पर्छ, जुन विवेकको छिमेकी गाउँ हो। विवेक र दिपेन्द्रकी श्रीमतीबीच चिनजान रहेको बताइएको छ। दिपेन्द्र वैदेशिक रोजगारीमा रहेका थिए र केही दिनअघि मात्रै घर फर्किएको प्रहरीले जनाएको छ।
प्रहरीले विवेक र दिपेन्द्रकी श्रीमतीबीचको सम्बन्ध तथा फोन सम्पर्कलगायत विषयलाई समेत अनुसन्धानको दायरामा राखेको छ। प्रारम्भिक अनुसन्धानमा फोनमार्फत विवेकलाई घरमा बोलाएर हत्या गरी शव सेफ्टी ट्यांकीमा लुकाइएको हुनसक्ने आशंका गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




