महोत्तरी – गत भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीपहिरो तथा विपद्मा परी सम्पर्कविहीन रहेका महोत्तरीका व्यक्तिका परिवारसँग जिल्ला सुरक्षा समिति महोत्तरीले स्थलगत भेटघाट गरेको छ।
जिल्ला सुरक्षा समितिको टोलीले रसुवा विपद्मा परी सम्पर्कविहीन रहेका जिल्लाका नौ जनामध्ये चार जनाका परिवारसँग प्रत्यक्ष भेट गरी उनीहरूको हालको अवस्था तथा समस्याबारे जानकारी लिएको हो।




टोलीले पिपरा गाउँपालिका–३ का विकास यादव, जलेश्वर नगरपालिका–१० का सुशीललाल दास, मटिहानी नगरपालिका–७ का गंगाराम मण्डल र जलेश्वर नगरपालिका–७ का हसान अन्सारीका परिवारसँग भेटघाट गरेको छ।

भेटका क्रममा राज्यका तर्फबाट बेपत्ता व्यक्तिको खोजी, उद्धार तथा पहिचानका लागि भइरहेको प्रयासबारे पीडित परिवारलाई विस्तृत जानकारी गराइएको थियो। साथै, परिवारका सदस्यहरूको हालको अवस्था, उनीहरूले भोगिरहेका व्यावहारिक कठिनाइ तथा आवश्यक पर्ने सहयोगका विषयमा समेत समितिका पदाधिकारीहरूले चासो व्यक्त गरेका थिए।

सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले विपद्का कारण आफ्ना आफन्त सम्पर्कविहीन हुँदा पीडित परिवारमा परेको मर्माहत अवस्थाप्रति प्रशासन अत्यन्तै गम्भीर रहेको बताए। उनले बेपत्ताहरूको खोजी तथा उद्धारका लागि राज्यका सम्बद्ध निकायहरू निरन्तर खटिरहेको उल्लेख गर्दै यससम्बन्धी जानकारी परिवारलाई नियमित रूपमा गराइने बताए।
“विपद्मा आफन्त गुमाउने वा लामो समयसम्म सम्पर्कविहीन हुँदा परिवारले भोग्नुपरेको पीडा अत्यन्तै संवेदनशील विषय हो। प्रशासन परिवारको दुःख र अवस्थाप्रति पूर्ण रूपमा गम्भीर छ। राज्यका तर्फबाट भइरहेको खोजी तथा उद्धार प्रयासबारे परिवारलाई जानकारी गराउँदै आवश्यक समन्वय र सहयोग निरन्तर गरिनेछ,” प्रजिअ यादवले भने।
जिल्ला प्रशासन कार्यालयले रसुवा विपद्मा परी सम्पर्कविहीन रहेका महोत्तरीका बाँकी अन्य व्यक्तिका परिवारसँग पनि छिट्टै भेटघाट तथा आवश्यक समन्वय गरिने जनाएको छ।

तस्बिरहरू : जिल्ला प्रशासन कार्यालय,महोत्तरी को सामाजिक संजालबाट




