सर्लाही – सर्लाहीको हरिवन नगरपालिका–८ का विभिन्न बस्तीमा स्यालको आक्रमणबाट छ जना मानिस र करिब २५ वटा पशुचौपाया घाइते भएका छन् ।
हरिवन–८ का चापिनी, आपडाँडा, स्कुलटोल र जिम्दार चोकमा एउटै स्यालले आक्रमण गर्दा छ जना घाइते भएको हरिवन नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।



स्यालको टोकाइबाट ३० वर्षीया अर्पना कोइराला, ३४ वर्षीया विमला तामाङ, २१ वर्षीय प्रशान्त उप्रेती, ६५ वर्षीय तिलबहादुर मगर, ७१ वर्षीय मनबहादुर थामी र ६६ वर्षीय देवराम मगर घाइते भएका छन् ।
घाइतेहरूको नगर अस्पताल सासापुर, नमुना अस्पताल हरिवन तथा हरिवन बजारका विभिन्न निजी स्वास्थ्य संस्थामा उपचार भइरहेको स्वास्थ्य शाखा संयोजक रामबाबु चौधरीले जानकारी दिए । केही घाइतेले हेटौँडा, वीरगन्ज र काठमाडौं पुगेर आवश्यक उपचार तथा रेबिजविरुद्धको खोपसमेत लगाएका छन् ।
स्यालको आक्रमणबाट एकैपटक धेरै मानिस घाइते भएपछि हरिवन नगरपालिकाले छिमेकी लालबन्दी नगरपालिकासँग समन्वय गरी नगर अस्पताल सासापुरमा रेबिजविरुद्धको खोपको व्यवस्था गरेको छ ।
स्वास्थ्य शाखा संयोजक चौधरीका अनुसार नगर अस्पतालमा तत्काल रेबिजविरुद्धको खोपको अभाव भएपछि घटनालगत्तै लालबन्दीबाट खोप सापटी ल्याएर अस्पतालमा राखिएको हो ।
उता, नगरपालिकाको पशु स्वास्थ्य शाखाका पशु चिकित्सक डा. महेश श्रेष्ठका अनुसार स्यालको टोकाइबाट करिब २५ वटा भैँसी र बाख्रा घाइते भएका छन् ।
डा. श्रेष्ठका अनुसार आइतबार बिहान आक्रमण प्रभावित क्षेत्रमा पुग्दा अधिकांश किसानले निजी भेटेरिनरीका पशु प्राविधिकमार्फत घाइते पशुचौपायालाई रेबिजविरुद्धको खोप लगाइसकेका थिए । थप खोप आवश्यक परे पशु स्वास्थ्य शाखाबाट उपलब्ध गराउने व्यवस्था गरिएको उनले बताए ।
स्यालको आक्रमणबाट मानिस तथा पशुचौपाया घाइते भएपछि स्वास्थ्यकर्मी र पशु प्राविधिकलाई परिचालन गरिएको हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल)ले जानकारी दिए ।




