महोत्तरी – औरही नगरपालिका–नगर कार्यपालिकाको कार्यालयमा बुधबार भएको हुलहुज्जत, हातपात तथा तोडफोडको घटनाप्रति गौशाला नगरपालिकाले गम्भीर ध्यानाकर्षण जनाउँदै औरहीका जनप्रतिनिधि तथा कर्मचारीप्रति ऐक्यबद्धता जनाएको छ।
गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतोले जारी गर्नुभएको विज्ञप्तिमा बुधबार बिहान करिब ११ः३० बजे करिब ५०–६० जनाको समूहले औरही नगरपालिकाका नगर प्रमुख प्रदीपकुमार खड्काको कार्यकक्षमा प्रवेश गरी हुलहुज्जत तथा हातपात गरेको उल्लेख छ।



विज्ञप्तिअनुसार घटनाका क्रममा नगरपालिका कार्यालय परिसरमा तोडफोड गर्नुका साथै अन्य जनप्रतिनिधि तथा कर्मचारीमाथि अभद्र व्यवहार र आक्रमणको प्रयास भएको जनाइएको छ।
स्थानीय सरकारका कार्यालयमा नागरिकका गुनासा, असन्तुष्टि तथा मागलाई कानुनी प्रक्रिया र शान्तिपूर्ण संवादमार्फत सम्बोधन गर्नुपर्नेमा भौतिक आक्रमण र सार्वजनिक सम्पत्तिमा क्षति पु¥याउने कार्य स्वीकार्य नहुने गौशाला नगरपालिकाले जनाएको छ।
यस्ता घटनाले जनप्रतिनिधि तथा कर्मचारीले भयमुक्त वातावरणमा नागरिकलाई सेवा प्रवाह गर्ने अवस्थामाथि प्रतिकूल प्रभाव पार्ने भन्दै गौशाला नगरपालिकाले औरही नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीप्रति ऐक्यबद्धता जनाएको हो।
गौशाला नगरपालिकाले घटनामा संलग्न व्यक्तिहरूको शीघ्र पहिचान गरी प्रचलित कानुनबमोजिम कारबाही गर्न स्थानीय प्रशासन तथा नेपाल सरकारसँग माग गरेको छ। साथै, स्थानीय तहमा कार्यरत जनप्रतिनिधि तथा कर्मचारीलाई सुरक्षित र भयमुक्त वातावरणमा काम गर्ने अवस्था सुनिश्चित गर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ।
विज्ञप्तिको बोधार्थ भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय महोत्तरीलाई दिइएको छ।





