औरही,महोत्तरी – महोत्तरीको औरही नगरपालिकाका नगर प्रमुख प्रदीप कुमार खड्कामाथि उहाँकै कार्यकक्षभित्र हातपात एवम् कार्यालय तोडफोड भएको छ।
बुधबार दिउँसो करिब ११:३० बजे कार्यकक्षमा प्रवेश गरेको एक उच्छृङ्खल समूहले हुलहुज्जत गर्दै नगर प्रमुख खड्का तथा कार्यरत कर्मचारीहरूमाथि कुटपिट र अमानवीय व्यवहार गर्नुका साथै कार्यालयका सामानहरू तोडफोड गरी क्षति पुर्याएको हो।



औरही नगरपालिका वडा नं. ८ का किसानहरूका लागि सिँचाई प्रयोजनार्थ जडान गर्न लागिएको ट्रान्सफर्मरको स्थान चयनलाई लिएर स्थानीय किसानहरूबीच मतभिन्नता रहेको थियो। अधिकतम किसानको खेतमा सिँचाई पुग्ने गरी उपयुक्त ठाउँमा ट्रान्सफर्मर जडान गर्न नगर प्रमुख खड्काले सरोकारवालाहरूसँग संवाद सुरु गरिसकेको अवस्थामा सो आक्रमण भएको जनाइएको छ।
जसपा नेपालद्वारा तीव्र भर्त्सना
यसैबीच, जनता समाजवादी पार्टी (जसपा), नेपाल औरही नगर समितिले विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नगर अध्यक्ष दरेश यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा लोकतान्त्रिक व्यवस्थामा असहमतिहरूलाई संवाद र समझदारीबाट समाधान गर्ने विकल्प हुँदाहुँदै कानुन हातमा लिने काम भएको भन्दै आपत्ति जनाइएको छ।
नगर अध्यक्ष यादवले भन्नुभयो, “किसानहरूबीचको मतभिन्नता समाधान गर्न नगर प्रमुखले संवाद सुरु गरिसकेको अवस्थामा उहाँमाथि भएको प्रहारलाई सभ्य समाजले स्वीकार गर्न सक्दैन। लोकतन्त्रमा कानुनी राज्यको धज्जी उडाउने कसैलाई छुट छैन।”
विज्ञप्ति मार्फत जसपा नेपालले घटनामा संलग्न व्यक्तिहरूको तत्काल पहिचान गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी एवम् सार्वजनिक संस्थाको सुरक्षा प्रत्याभूति गराउन सम्बन्धित निकायसँग जोडदार माग गरेको छ।





