महोत्तरी – महोत्तरीको औरही नगरपालिकाका नगरप्रमुख प्रदीपकुमार खड्काको कार्यकक्षमा अनधिकृत रूपमा प्रवेश गरी हुलहुज्जत, तोडफोड तथा कुटपिट गरिएको घटनाप्रति औरहीमा क्रियाशील राजनीतिक दलहरूले गम्भीर ध्यानाकर्षण जनाएका छन्।
बुधबार औरहीमा क्रियाशील राजनीतिक दल तथा उद्योग वाणिज्य संघका स्थानीय प्रतिनिधिहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नगरप्रमुख, जनप्रतिनिधि र कर्मचारीमाथि भएको हातपात तथा सार्वजनिक सम्पत्तिमा गरिएको तोडफोडको भर्त्सना गरेका हुन्।



विज्ञप्तिअनुसार भदौ ३१ गते बिहान करिब ११ः३० बजे एक समूह नगरप्रमुख खड्काको कार्यकक्षमा प्रवेश गरी हुलहुज्जत तथा तोडफोड गर्नुका साथै कर्मचारीमाथि कुटपिट र अभद्र व्यवहार गरेको थियो।
औरही नगरपालिका–८ का किसानलाई सिँचाइ प्रयोजनका लागि ट्रान्सफर्मर जडान गर्ने विषयमा देखिएको स्थानीय मतभिन्नता संवाद र समन्वयमार्फत समाधान गर्ने प्रयास भइरहेका बेला घटना भएको विज्ञप्तिमा उल्लेख छ।
राजनीतिक दलहरूले लोकतान्त्रिक व्यवस्थामा आफ्ना असहमति तथा माग राख्ने अधिकार सबैलाई भए पनि कानुन हातमा लिएर सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने तथा जनप्रतिनिधि र कर्मचारीमाथि हातपात गर्ने कार्य स्वीकार्य नहुने बताएका छन्।
घटनामा संलग्न व्यक्तिहरूको तत्काल पहिचान गरी निष्पक्ष छानबिनमार्फत दोषीमाथि कडा कानुनी कारबाही गर्न उनीहरूले सुरक्षा निकाय तथा स्थानीय प्रशासनसँग माग गरेका छन्। साथै, घटनालाई ढाकछोप गर्ने प्रयास भए त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने चेतावनीसमेत दिइएको छ।
भविष्यमा यस्ता घटना दोहोरिन नदिन जनप्रतिनिधि, कर्मचारी तथा सार्वजनिक संस्थाको सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन आग्रह गर्दै दलहरूले सबै पक्षलाई संयमता अपनाउन तथा विवादको समाधान संवाद र कानुनी प्रक्रियामार्फत गर्न अपिल गरेका छन्।
संयुक्त विज्ञप्तिमा जनता समाजवादी पार्टी (जसपा) नेपालका दरेश यादव र महेन्द्रकुमार राय, नेपाली कांग्रेसका योगेन्द्र यादव, नेकपा (एमाले) का चेथरू यादव, नेकपाका रामबाबु चौधरी, जनमत पार्टीका रामचन्द्र मण्डल तथा उद्योग वाणिज्य संघका संजय मण्डलले हस्ताक्षर गरेका छन्।





