महोत्तरी – महोत्तरीको बर्दिबासबाट पिकअपको फल्स बटममा लुकाएर ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले १९६ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले शुक्रबार गोप्य सूचनाका आधारमा बर्दिबास नगरपालिका–१ मा बा ५ च ८००१ नम्बरको पिकअप रोकी जाँच गर्ने क्रममा चालक धादिङको गल्छी गाउँपालिका–२ खरीढुङ्गाका २६ वर्षीय रोशन भुजेललाई नियन्त्रणमा लिएको थियो।



अनुसन्धानका क्रममा पिकअप चालकसँग प्र ३–०३–००१ प ३५२८ नम्बरको २२० सीसी पल्सर मोटरसाइकलका चालक मकवानपुरको मनहरी गाउँपालिका–७ का ३६ वर्षीय वीरेन्द्र स्याङ्बोले पटक–पटक सम्पर्क गरेको पाइएपछि उनलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
दुवै जनामाथि सोधपुछ गरेपछि शनिबार मिस्त्री बोलाएर पिकअपको ढालाको भाग जाँच गर्दा फल्स बटम बनाइएको शङ्का लागेपछि काटेर हेर्दा प्लास्टिकमा प्याक गरिएका १५ पोकामा १९६ किलो गाँजा फेला परेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ।
प्रहरीले गाँजासहित पिकअप, मोटरसाइकल र पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय बर्दिबासमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।




