महोत्तरी – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महोत्तरीको गौशाला नगरपालिकामा वडा, नगर तथा प्रदेश तहका अधिवेशनहरू सर्वसम्मत रूपमा सम्पन्न भएका छन्। अधिवेशनबाट विभिन्न तहमा नेतृत्व चयन गर्दै कांग्रेसले पार्टीभित्र सहमति, एकता र सहकार्यको सन्देश दिएको नेताहरूले बताएका छन्।
गौशाला नगर समितिको सभापतिमा लोकप्रिय तथा जुझारु युवा नेता राजकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। श्रेष्ठलाई सफल कार्यकालको शुभकामना दिँदै पार्टी संगठनलाई थप सुदृढ बनाउन सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।



त्यस्तै, नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महोत्तरी क्षेत्र नं. १(ख) को प्रदेश सभापतिमा राधेश्याम भगत दोस्रो कार्यकालका लागि निर्विरोध सर्वसम्मत निर्वाचित भएका छन्। भगतलाई पनि नेता–कार्यकर्ताले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।

गौशाला नगरपालिकाका १२ वटै वडामा वडा अधिवेशन सम्पन्न भई वडा सभापतिहरू सर्वसम्मत रूपमा चयन भएका छन्। निर्वाचित वडा सभापतिहरूमा गौशाला–१ मा जयराम भारती, २ मा रामचन्द्र चौधरी, ३ मा लालबाबु साह, ४ मा श्याम महतो, ५ मा जीवन मगर, ६ मा केदार यादव, ७ मा चनरदेव चौधरी, ८ मा सुरेश महतो, ९ मा सजन सिंह, १० मा रामदुलार यादव, ११ मा अशोक कुमार महतो र १२ मा वीरेन्द्र महतो रहेका छन्।
अधिवेशनबाट सर्वसम्मत रूपमा नेतृत्व चयन हुनु पार्टीभित्रको सहमति र सहकार्यको सकारात्मक अभ्यास भएको कांग्रेसका नेता–कार्यकर्ताहरूले बताएका छन्।
वडा तहदेखि नगर र प्रदेश तहसम्म सहमतिका आधारमा नेतृत्व चयन भएपछि संगठनलाई थप व्यवस्थित र सुदृढ बनाउँदै अघि बढ्ने अपेक्षा गरिएको छ।
नवनिर्वाचित सबै सभापति तथा पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै आगामी दिनमा संगठन सुदृढीकरण, पार्टी एकता, लोकतान्त्रिक संस्कार र जनताको सेवामा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ।




