जनकपुरधाम । भारी वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षा संयन्त्रलाई उच्च सतर्क अवस्थामा राखिएको छ । सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण तथा तत्काल उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनालाई आवश्यक स्रोतसाधनसहित तयारी अवस्थामा राखिएको हो ।
मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीका अनुसार प्रदेशका सबै सुरक्षा संयन्त्रलाई विपद् प्रतिकार्यका लागि ‘स्ट्यान्डबाइ’ अवस्थामा राखिएको छ । आठवटै जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई सम्भावित जोखिमयुक्त क्षेत्र पहिचान गरी सुरक्षा सतर्कता बढाउन निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो ।



“जोखिम र अति जोखिमयुक्त क्षेत्र पहिचान गरी स्थानीय प्रशासन तथा सम्बन्धित निकायसँग समन्वय गरेर सुरक्षाकर्मी परिचालन गरिएको छ,” उहाँले भन्नुभयो, “सम्भावित बाढी, डुबानलगायतका विपद्का बेला तत्काल उद्धारमा खटिन सक्ने गरी जनशक्ति र स्रोतसाधन तयारी अवस्थामा राखिएको छ ।”
प्रदेश प्रहरीले राजमार्गमा निर्माणाधीन पुल, सडक तथा अन्य जोखिमयुक्त संरचनामा आकस्मिक बाढीको सम्भावनालाई ध्यानमा राख्दै निगरानी बढाउनसमेत निर्देशन दिएको छ । प्रदेश विपद् व्यवस्थापन गुल्म वीरगञ्ज र जनकपुरधामलाई उद्धार तथा विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ ।
यसैबीच, मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले पनि सुरक्षा निकायलाई उच्च सतर्कतासहित परिचालन हुन निर्देशन दिएको छ । बैठकले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच प्रभावकारी समन्वय गरी सम्भावित विपद्को क्षति न्यूनीकरण तथा उद्धार कार्यलाई चुस्त बनाउन जोड दिएको छ ।
नदी तथा खोलाका कारण विभिन्न जिल्ला जोखिममा
मधेशका सबै जिल्लामा बाढी तथा डुबानको जोखिम रहे पनि नदी तथा खोलाको बहाव, भौगोलिक अवस्था र विगतका घटनाका आधारमा केही क्षेत्र बढी संवेदनशील मानिन्छन् ।
रौतहटमा बागमती र लालबकैया नदीको बहाव बढ्दा सदरमुकाम गौरसहित राजदेवी, ईशनाथ, राजपुर, बौधीमाई, गढीमाई र मौलापुरका तटीय बस्ती प्रभावित हुने जोखिम छ । नदीको जलस्तर बढेसँगै तटीय क्षेत्रका बस्तीमा डुबान तथा कटानको जोखिमसमेत बढ्ने गरेको छ ।
धनुषामा कमला, जलाद र औरही नदीको बहाव बढ्दा गणेशमान चारनाथ, सबैला, शहीदनगर, कमला र विदेह नगरपालिकाका विभिन्न क्षेत्र प्रभावित हुन सक्छन् । जनकपुरधाम उपमहानगरपालिकामा भने नदीजन्य बाढीसँगै सहरी क्षेत्रमा पर्याप्त ढल तथा निकासको अभावका कारण वर्षायाममा डुबानको समस्या दोहोरिँदै आएको छ ।
सिरहामा कमला, बलान तथा स्थानीय खहरे खोलाको बहाव बढ्दा सिरहा नगरपालिका, कल्याणपुर, कर्जन्हा, मिर्चैया र भगवानपुर क्षेत्र जोखिममा पर्ने गरेका छन् । सप्तरीमा सप्तकोशीसँगै खाँडो, महुली, जिता र बलान खोलाको बहाव बढ्दा हनुमाननगर कङ्कालिनी, तिलाठी कोइलाडी, छिन्नमस्ता र राजविराज आसपासका बस्तीमा डुबानको जोखिम रहने गरेको छ ।
सर्लाहीमा बागमती, लखनदेई र मनुसमारा नदीको बहाव बढ्दा बरहथवा, बलरा, गोडैता, कौडेना तथा बसबरिया क्षेत्र प्रभावित हुन सक्छन् । महोत्तरीमा रातु, मडाहा, बिग्ही र अङ्कुशी नदीमा आउने बाढी तथा कटानका कारण जलेश्वर, मटिहानी, बलवा, मनरासिसवा र एकडारा क्षेत्र संवेदनशील मानिन्छन् ।
बारा र पर्सामा चुरे तथा पहाडी क्षेत्रबाट बग्ने खोलामा अचानक आउने बाढी प्रमुख जोखिमका रूपमा देखिएको छ । बारामा पसाहा, दुधौरा, बालगङ्गा र तिलावे नदीमा आउने आकस्मिक बाढीले कलैया तथा जीतपुरसिमरा उपमहानगरपालिकाका तल्लो तटीय क्षेत्रसँगै परवानीपुर र देवताल गाउँपालिकाका केही क्षेत्र प्रभावित हुन सक्छन् ।
पर्सामा ओरिया नदीको कटान तथा श्रीसिया र तिलावे नदीको बाढीका कारण जगरनाथपुर, धोबिनी, वीरगञ्ज महानगरपालिका र पोखरिया क्षेत्र जोखिममा पर्ने गरेका छन् ।
चुरे दोहनले जोखिम थप जटिल
सुरक्षा निकायका अनुसार चुरे क्षेत्रमा भइरहेको दोहन तथा खोलाको प्राकृतिक बहावमा आएको परिवर्तनले मधेशका कतिपय क्षेत्रमा बाढीको जोखिम थप जटिल बनाएको छ । खोलामा ढुङ्गा, गिट्टी तथा बालुवा थुप्रिँदा पानीको प्राकृतिक निकास प्रभावित हुने र छोटो समयको भारी वर्षामै लेदोसहितको आकस्मिक बाढी बस्तीमा पस्ने जोखिम रहने सुरक्षा निकायको विश्लेषण छ ।
बाढीको जोखिमसँगै सडक, पुल, कल्भर्ट र निर्माणाधीन संरचनामा क्षति पुग्न सक्ने भएकाले त्यस्ता क्षेत्रमा पनि निगरानी बढाइएको छ । सम्भावित जोखिमयुक्त बस्तीको पूर्वपहिचान, स्थानीय तह तथा प्रशासनसँग समन्वय र उद्धार टोलीको तत्काल परिचालनलाई सुरक्षा निकायले प्राथमिकतामा राखेको जनाएको छ ।
सुरक्षा निकायले नदी, खोला तथा डुबान सम्भावित क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र स्थानीय प्रशासन तथा मौसम पूर्वानुमानसम्बन्धी आधिकारिक सूचनामा ध्यान दिन सर्वसाधारणलाई आग्रह गरेको छ ।
मौसमी प्रणाली सक्रिय
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणाली भारतको आन्ध्र प्रदेश र दक्षिण ओडिशा तट हुँदै उत्तर–पश्चिमतर्फ सर्दै गएको छ । उक्त मौसमी प्रणालीको प्रभाव नेपालमा समेत परेको र कोशी, मधेश तथा बागमती प्रदेशका अधिकांश स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ ।
भारी वर्षाको सम्भावनाबीच मधेशमा सुरक्षा संयन्त्रलाई अग्रिम रूपमा परिचालन गरिएको हो । सुरक्षा अधिकारीहरूका अनुसार विपद् आएपछि उद्धारका लागि परिचालन हुनुभन्दा जोखिमयुक्त क्षेत्रको पूर्वपहिचान, आवश्यक जनशक्ति तथा उपकरणको तयारी र सम्बन्धित निकायबीच समन्वय कायम गरेर तत्काल प्रतिकार्य क्षमता सुनिश्चित गर्नु अहिलेको प्राथमिकता हो ।




