महोत्तरी – पूर्वमधेस प्रदेशसभा सदस्य एवं नेपाली कम्युनिष्ट पार्टीका नेता अशोककुमार यादव तीन लाख रुपैयाँ धरौटी बुझाएर रिहा हुनुभएको छ।बुधबार सर्लाही जिल्ला अदालतका न्यायाधीश मनोजकुमार श्रीवास्तवको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएपछि यादव तीन सातापछि हिरासतमुक्त हुनुभएको हो।
यादवलाई प्रहरीले गत भदौ २३ गते ललितपुरबाट पक्राउ गरी सर्लाही ल्याएको थियो। उहाँमाथि आपराधिक उपद्रव तथा कुटपिट गरी अङ्गभङ्ग गरेको आरोपमा मुद्दा चलाइएको थियो।



सर्लाहीका पूर्वप्रहरी प्रमुख (एसपी) योगेन्द्रकुमार खड्कालाई गालीगलौज गरेको तथा प्रहरीमाथि कुटपिट गरेको आरोपमा यादवविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको थियो।
अदालतको आदेशअनुसार तीन लाख रुपैयाँ धरौटी बुझाएर बुधबार साँझ हिरासतमुक्त हुनुभएका यादवले अनियमितता र अत्याचारविरुद्ध आवाज उठाउँदा आफू पटक–पटक प्रहरी तथा प्रशासनको निशानामा परेको बताउनुभएको छ।





