जीवनराज दाहाल (बर्दिबास, महोत्तरी),बर्दिबास युवा टोल सुधार समितिद्वारा निर्मित श्री दुर्गा मन्दिर व्यवस्थापन समितिको आयोजनामा नेपालीहरूको महान् चाड विजयादशमीको अवसर पारेर बर्दिबास–१ स्थित श्री दुर्गा मन्दिर परिसरमा धार्मिक सप्ताह आयोजना गरिने भएको छ ।
भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण धार्मिक, सांस्कृतिक तथा सामाजिक एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले सप्ताह आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । सप्ताह देवी सुमी मानवको मुखारविन्दबाट धार्मिक प्रवचन तथा विभिन्न आध्यात्मिक कार्यक्रमसहित सञ्चालन गरिनेछ ।



आयोजकका अनुसार सप्ताहलाई केवल धार्मिक कार्यक्रमका रूपमा मात्र सीमित नराखी समाज, धर्म, संस्कृति तथा सार्वजनिक सम्पत्तिको संरक्षण र विकाससँग जोडिएको सामाजिक अभियानका रूपमा अघि बढाउने उद्देश्य राखिएको छ ।
सप्ताहका क्रममा भक्तजन, श्रद्धालु तथा शुभेच्छुकबाट स्वेच्छिक रूपमा प्राप्त हुने दान, सहयोग तथा सप्ताहबाट संकलित रकमलाई पारदर्शी रूपमा बर्दिबास–१ स्थित श्री दुर्गा मन्दिरको भौतिक पूर्वाधार विकासमा खर्च गरिने योजना रहेको छ ।
संकलित रकमबाट मन्दिरको पहिचान झल्किने तथा मौलिक नेपाली वास्तुकला झल्किने मुख्य प्रवेशद्वार निर्माण गर्ने योजना रहेको छ । प्रवेशद्वारमा दुर्गा माताको कलात्मक प्रतिमा वा प्रतीक, सिंहमार्फत देवीको संरक्षणको प्रतीक, मन्दिरको नाम, आकर्षक धार्मिक कलात्मक डिजाइन तथा रातिको समयमा देखिने गरी प्रकाश व्यवस्था गर्ने प्रस्ताव गरिएको छ ।
त्यस्तै, मन्दिर परिसरलाई व्यवस्थित तथा सुरक्षित बनाउन आवश्यक स्थानमा कम्पाउण्ड वाल तथा रेलिङ निर्माण गर्ने योजना रहेको छ । मन्दिर प्रवेश तथा आवागमनलाई सहज बनाउन पैदलमार्ग, पक्की सतह, पानी निकास, रेलिङ तथा आवश्यक प्रकाश व्यवस्थालाई समेत प्राथमिकतामा राखिएको छ ।
मन्दिर परिसरको सौन्दर्यीकरणअन्तर्गत वृक्षरोपण, फूलबारी, हरियाली तथा भक्तजनका लागि बस्ने स्थानको व्यवस्था गर्दै धार्मिक तथा पर्यटकीय दृष्टिले आकर्षक बनाउने लक्ष्यसमेत राखिएको छ ।
आयोजकले धार्मिक आस्था, सामाजिक एकता तथा मन्दिरको पूर्वाधार विकासका लागि आयोजना गर्न लागिएको सप्ताहमा सहभागी भई सहयोग गर्न भक्तजन, स्थानीयवासी तथा शुभेच्छुकहरूलाई आग्रह गरेको छ ।





