महोत्तरी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्नुभएका औरही नगरपालिका–१ निवासी रामबाबु चौधरीलाई गृहगाउँ औरहीमा स्वागत गरिएको छ।
नेपाली कम्युनिस्ट पार्टी (माओवादी केन्द्र पृष्ठभूमि) का मधेस प्रदेश कमिटी सदस्य रहनुभएका चौधरी केही दिनअघि रास्वपामा प्रवेश गर्नुभएको हो। काठमाडौँस्थित घण्टीघरमा आयोजित कार्यक्रममा रास्वपा सभापति रवि लामिछानेले चौधरीसहित नवप्रवेशी नेता तथा कार्यकर्तालाई खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो।



चौधरीलाई रास्वपा औरही नगर कार्यसमितिले नगर उपसभापति मनोज चौधरीको नेतृत्वमा खादा तथा अबिर लगाएर स्वागत गरेको हो। स्वागत कार्यक्रममा नगर कोषाध्यक्ष अमर चौधरी, नगर सदस्य अमित यादव, औरही नगरपालिका–१ का वडा सभापति रामरतन चौधरी, जिल्ला सदस्य रजत सिंह भण्डारीलगायत करिब २० जना नेता तथा कार्यकर्ताको सहभागिता थियो।
नगर उपसभापति मनोज चौधरीले लामो समयदेखि राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय रामबाबु चौधरी रास्वपामा प्रवेश गरेपछि औरहीमा पार्टीको संगठन विस्तारमा थप ऊर्जा मिलेको बताउनुभयो। उहाँले चौधरीको राजनीतिक अनुभव तथा स्थानीयस्तरमा रहेको सम्बन्धलाई संगठन निर्माणमा उपयोग गर्न सकिने बताउनुभयो।
नगर सदस्य अमित यादवले चौधरीको प्रवेशले स्थानीयस्तरमा पार्टीप्रतिको चासो बढ्ने बताउँदै वडा,टोल तथा बस्तीस्तरसम्म संगठन विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।
जिल्ला सदस्य रजत सिंह भण्डारीले चौधरीको राजनीतिक तथा सांगठनिक अनुभव महोत्तरीमा पार्टीको संगठन विस्तारका लागि उपयोगी हुने बताउनुभयो। वडा सभापति रामरतन चौधरीले उहाँको प्रवेशले वडा नम्बर १ औरहीका नेता तथा कार्यकर्तामा उत्साह थपिएको बताउनुभयो।
तीन दशक लामो राजनीतिक यात्रा टुङ्ग्याउँदै रास्वपामा
चौधरीले गत आइतबार सामाजिक सञ्जालमार्फत माओवादी केन्द्रको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गर्नुभएको थियो। उहाँ माओवादी केन्द्र मधेस प्रदेश कमिटी सदस्यसमेत रहनुभएको थियो।
पार्टी परित्यागको घोषणा गर्दा चौधरीले नेतृत्वको कार्यशैली, जिम्मेवारी बाँडफाँट तथा मधेस प्रदेशमा बढ्दै गएको गुट–उपगुटप्रति असन्तुष्टि व्यक्त गर्नुभएको थियो। पार्टीभित्र देखिएका समस्या सुधारका लागि नेतृत्वसँग पटक–पटक छलफल तथा ध्यानाकर्षण गराए पनि अपेक्षित सुधार हुन नसकेको उहाँको दाबी थियो।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथिसमेत चौधरीले पार्टीभित्रको गुटगत राजनीतिलाई प्रश्रय दिएको आरोप लगाउनुभएको थियो। यी आरोप भने चौधरीका व्यक्तिगत धारणा तथा दाबी हुन्।
करिब ३० वर्ष लामो राजनीतिक तथा सांगठनिक यात्राका क्रममा आफूले पार्टी संगठन र राजनीतिक परिवर्तनका लागि योगदान गरेको उल्लेख गर्दै चौधरीले पुराना तथा निष्ठावान् नेता–कार्यकर्ताको उचित मूल्यांकन हुन नसकेको गुनासो गर्नुभएको थियो।
उहाँका अनुसार मधेसमा माओवादी आन्दोलनका कठिन दिनमा आफू पूर्णकालीन कार्यकर्ताका रूपमा सक्रिय रहनुभएको थियो। राजनीतिक परिवर्तनका क्रममा जेलजीवनसमेत बिताएको उल्लेख गर्दै उहाँले लामो समय पार्टीमा योगदान गरेका नेता–कार्यकर्तालाई उचित जिम्मेवारी र अवसर दिनुपर्ने बताउनुभएको थियो।
चौधरीले २०७४ सालको निर्वाचनमा तत्कालीन निर्वाचन क्षेत्र नं. ४ (क) बाट उम्मेदवार बनेको र आफ्नो पैतृक गाउँ पर्ने वडा नं. १ र २ बाट करिब एक हजार आठ सय तथा समग्र निर्वाचन क्षेत्रमा करिब छ हजार दुई सय मत प्राप्त गरेको उल्लेख गर्नुभएको छ। उक्त निर्वाचनमा प्राप्त मत तथा पार्टीका लागि गरेको योगदानको उचित मूल्यांकन नभएको उहाँको गुनासो थियो।
“मैले लामो समय पार्टी संगठनमा काम गरेँ। २०७४ सालको निर्वाचनमा पनि उम्मेदवार भएर संगठनका लागि योगदान गरेँ। तर त्यसको उचित मूल्यांकन भएन। पुराना तथा निष्ठावान् कार्यकर्तालाई अवसर र जिम्मेवारी दिने विषयमा नेतृत्व गम्भीर हुन सकेन,” चौधरीले भन्नुभयो।
पछिल्लो समय आफ्नो कार्यक्षेत्र परिवर्तन गरिदिन पार्टी नेतृत्वसँग आग्रह गरे पनि सुनुवाइ नभएको उहाँको भनाइ थियो। नेतृत्वको कार्यशैली, जिम्मेवारी बाँडफाँट र पार्टीभित्रको गुटबन्दीप्रति असन्तुष्टि बढ्दै गएपछि पार्टी परित्याग गर्ने निर्णयमा पुगेको उहाँले बताउनुभएको थियो।
‘पार्टीले गरेको निर्णय स्वीकार गर्छु’
रास्वपा प्रवेशलाई नयाँ राजनीतिक यात्राको सुरुवातका रूपमा लिनुभएका चौधरीले अब पार्टीले गर्ने निर्णयलाई स्वीकार गर्दै अघि बढ्ने बताउनुभएको छ।
“म रास्वपा प्रवेश गरेको छु। अब पार्टीले जे निर्णय गर्छ, त्यसलाई मान्नेछु। पार्टीले जुन साथीलाई टिकट दिन्छ, म त्यसलाई साथ र सहयोग गर्नेछु,” उहाँले भन्नुभयो।
उहाँले विगतको राजनीतिक तथा सांगठनिक अनुभवलाई नयाँ यात्रामा उपयोग गर्दै जनताका समस्या, स्थानीय आवश्यकता र संगठन निर्माणका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने बताउनुभयो।
यसअघि चौधरीसँगै महोत्तरी निर्वाचन क्षेत्र नं. १ र ४ का विभिन्न राजनीतिक पृष्ठभूमिका नेता तथा स्थानीय जनप्रतिनिधि पनि रास्वपामा प्रवेश गरेका थिए। रास्वपाले महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा संगठन विस्तारलाई तीव्रता दिइरहेको जनाएको छ।


























