महोत्तरी – गौशाला नगरपालिका–१२, कान्ती बजारस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत छात्रा समीक्षा सिंहले आफ्नो जन्मदिनको अवसरमा विद्यालयको दुई कोठे भवन रंगरोगनका लागि रङ सहयोग गरेकी छन्।
जन्मदिनको अवसरमा हुने खर्चलाई सामाजिक काममा लगाउने उद्देश्यले समीक्षा सिंहले आफ्ना आमाबुबाको सहयोगमा रङ खरिद गरी विद्यालयलाई हस्तान्तरण गरेकी हुन्। बिहीबार बिहान विद्यालय पुगेकी सिंहले प्रधानाध्यापक तथा अन्य शिक्षकहरूको उपस्थितिमा उक्त रङ विद्यालयलाई हस्तान्तरण गरिन्।




“जन्मदिनको खुसीमा सानो सहयोग, विद्यालयको सुन्दर भविष्यतर्फ ठूलो योगदान” भन्ने भावनासहित उनले आफूले अध्ययन गरिरहेको विद्यालयबाटै सामाजिक कार्यको सुरुआत गरेकी हुन्।
विद्यार्थीको जीवनमा विद्यालयको महत्वपूर्ण स्थान हुने भएकाले आफ्नो जन्मदिनलाई विद्यालयको विकाससँग जोडेर मनाउने सोच आएको समीक्षा सिंहले बताइन्। दुई कोठे भवनको रंगरोगनका लागि गरिएको उनको सहयोगले विद्यालयको भौतिक वातावरणलाई थप आकर्षक र व्यवस्थित बनाउन योगदान पुग्ने विद्यालयले जनाएको छ।

विद्यालय परिवारले समीक्षा सिंह तथा उनका अभिभावकलाई सहयोगका लागि धन्यवाद दिँदै जन्मदिनको अवसरमा गरिएको यस सकारात्मक कार्यले अन्य विद्यार्थीलाई पनि सामाजिक तथा रचनात्मक कामतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरेको छ।





