जनकपुरधाम । स्थानीय तहले ल्याउने बजेटलाई प्रभावकारी र परिणाममुखी बनाउन नीति निर्माणदेखि बजेट तर्जुमासम्म नागरिकको सहभागिता आवश्यक रहेकोमा वक्ताहरूले जोड दिनुभएको छ ।
मधेश प्रदेशमा सञ्चालित ‘सशक्त महिला, समृद्ध नेपाल’ परियोजनाअन्तर्गत मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयले लाइफ नेपालसँगको समन्वयमा शुक्रबार जनकपुरधाममा आयोजना गरेको नागरिक संलग्नता, नीति तथा बजेटसम्बन्धी अभ्यास तथा सिकाइ समीक्षा कार्यक्रममा सहभागी वक्ताहरूले यस्तो बताउनुभएको हो ।



संयुक्त राष्ट्रसंघ र युरोपियन युनियनको सहयोगमा आयोजित कार्यक्रममा वक्ताहरूले प्रत्येक स्थानीय तहले बजेट ल्याउनुअघि स्पष्ट नीति निर्माण गर्नुपर्नेमा जोड दिनुभएको थियो । नीति तथा योजनाबिना बजेट ल्याउँदा अपेक्षित परिणाम हासिल गर्न कठिन हुने उहाँहरूको भनाइ थियो ।
कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव होमनाथ काफ्लेले स्थानीय तहको बजेट पारदर्शी हुनुका साथै नागरिकको विश्वास जित्ने खालको हुनुपर्ने बताउनुभयो । नागरिकले बुझ्ने, बजेट निर्माण प्रक्रियामा सहभागी हुन पाउने र अपनत्व महसुस गर्ने वातावरण बनेमा बजेटले अपेक्षित परिणाम दिने उहाँले बताउनुभयो ।
युनिसेफ मधेश प्रदेश कार्यालय प्रमुख अनिता दाहालले मधेश प्रदेशका अधिकांश स्थानीय तहले नीति निर्माण गरेर बजेट ल्याउने गरेको बताउँदै नागरिक सहभागितामा तयार भएको बजेटले स्थानीय तहको समृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरले मधेश प्रदेशका १२ स्थानीय तहमा सञ्चालित परियोजनाबाट प्राप्त सिकाइ र अभ्यासले अन्य स्थानीय तहलाई समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
समीक्षा कार्यक्रममा मधेश प्रदेशका २४ स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा महिला बालबालिका शाखाका प्रतिनिधिको सहभागिता रहेको जानकारी दिँदै उहाँले छलफलबाट प्राप्त सुझावलाई व्यवहारमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयकी उपसचिव निर्मला मिश्रा, युनिसेफका काठमाडौं प्रतिनिधि अमुल आचार्य, स्थानीय बजेट विज्ञ जितेन्द्र यादव र लाइफ नेपालकी कार्यक्रम संयोजक लक्ष्मी साहलगायतले धारणा राख्नुभएको थियो ।





