जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरकी २० वर्षीया विवाहित महिला प्रियंका दास आइतबार साँझ आफ्नै घरमा मृत फेला परेकी छन्।
परिवारका अनुसार दासलाई आफ्नै सुत्ने कोठामा सिलिङ पंखामा सलको पासो लगाएको अवस्थामा फेला पारिएको थियो। उनका श्रीमान् विनोद दासले पासो खोलेर शवलाई ओछ्यानमा राखेको बताइएको छ।



घटनाको जानकारी पाएपछि प्रहरी चौकी कपिलेश्वरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनाको प्रकृति शंकास्पद देखिएपछि प्रहरीले घटनास्थलको मुचुल्का उठाउनुका साथै आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
घटनापछि स्थानीयवासीले दासको मृत्यु आत्महत्याबाट नभई हत्या भएको हुन सक्ने आशंका व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्। उनीहरूले घटनास्थलको सूक्ष्म निरीक्षण गरी सत्यतथ्य सार्वजनिक गर्न माग गर्दै विरोधसमेत गरेका थिए।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार घटनाबारे प्रारम्भिक अनुसन्धान भइरहेको छ। अनुसन्धानका क्रममा मृतकका श्रीमान् विनोदलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार शव परीक्षणलगायत अनुसन्धानबाट मृत्युको वास्तविक कारण खुल्नेछ। घटना हत्या, आत्महत्या वा अन्य कारणबाट भएको हो भन्ने विषयमा अनुसन्धान पूरा भएपछि मात्र निष्कर्षमा पुग्न सकिने प्रहरीले जनाएको छ।





