महोत्तरी – महोत्तरीको बर्दिबासबाट विद्युत् ट्रान्सफर्मरमा प्रयोग हुने तामाको क्वाइलसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक गुरुप्रसाद तिमिल्सिनाका अनुसार बर्दिबास नगरपालिका–१ हमाल टोलबाट ३३ केभी ट्रान्सफर्मरमा प्रयोग हुने तामाको क्वाइलसहित पाँच जनालाई असोज १९ गते साँझ करिब ७ बजे पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा सर्लाहीको गोडैता नगरपालिका–६ बगदहका ३१ वर्षीय इन्द्रजित महतो तथा महोत्तरीको बर्दिबास नगरपालिका–८ हात्तीलेटका २९ वर्षीय दिनेशकुमार महतो, २७ वर्षीय भरत यादव, ३१ वर्षीय भुवन भुजेल र २८ वर्षीय जयराम ठाकुर रहेका छन् ।
प्रहरीका अनुसार कवाड व्यवसायी महतोले अन्य चार जनासँग मिलेर उक्त तामाको क्वाइल खरिद गरेको प्रारम्भिक अनुसन्धानका क्रममा स्वीकार गरेका छन् ।



पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय बर्दिबासमा राखिएको छ । उनीहरूविरुद्ध पक्राउ परेकै मितिदेखि लागू हुने गरी महोत्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण सारु मगरले पक्राउ परेकाहरूमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको बताउनुभयो ।
उहाँका अनुसार महोत्तरी, धनुषा र सर्लाहीमा पछिल्लो समय भएका ट्रान्सफर्मर चोरीका घटनामा पक्राउ परेकाहरूको संलग्नताबारे समेत अनुसन्धान भइरहेको छ ।ट्रान्सफर्मर चोरीमा संलग्न सम्भावित गिरोह तथा सञ्जालको पहिचान गर्ने गरी अनुसन्धान अघि बढाइएको प्रहरी उपरीक्षक सारु मगरले बताउनुभयो ।महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले ट्रान्सफर्मर चोरीमा संलग्न गिरोहसम्म पुग्ने गरी अनुसन्धान भइरहेको बताउनुभयो । ट्रान्सफर्मर चोरी नियन्त्रणका लागि प्रहरीले आवश्यक सबै पक्षबाट अनुसन्धान अघि बढाएको उहाँले जानकारी दिनुभयो ।
एक वर्षमा ५८ ट्रान्सफर्मर चोरी
प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेशमा ५८ वटा विद्युत् ट्रान्सफर्मर चोरी भएका छन् ।
तथ्याङ्कअनुसार महोत्तरीमा २८, सर्लाहीमा १७, धनुषामा १० र रौतहटमा तीन वटा ट्रान्सफर्मर चोरी भएका छन् । प्रदेशमा सबैभन्दा बढी ट्रान्सफर्मर चोरी महोत्तरीमा भएको देखिएको छ । ट्रान्सफर्मर चोरीका घटनामा मधेश प्रदेशभर २० वटा मुद्दा दर्ता भएका छन् । ती घटनामा छ जना पक्राउ परेको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।





