जनकपुरधाम । दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै मधेश प्रदेशका आठवटै जिल्लामा ७ हजार २२९ प्रहरी परिचालन गरिने भएको छ ।
प्रदेश प्रहरीले असोज २९ गतेदेखि कात्तिक ३० गतेसम्म लागू हुने गरी विशेष चाडपर्व सुरक्षा योजना तयार गरेको हो ।



मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार चाडपर्व अवधिभर १ हजार ५११ वटा ड्युटीमा प्रहरी परिचालन गरिनेछ ।
सबैभन्दा बढी धनुषामा १ हजार ५९९ र सबैभन्दा कम सिरहामा ६५१ प्रहरी खटाइनेछन् ।
त्यस्तै, पर्सामा ६६१, बारामा ८७०, रौतहटमा ८६३, सर्लाहीमा ७९२, महोत्तरीमा ७४७ र सप्तरीमा ८५७ प्रहरी परिचालन हुनेछन् ।
चाडपर्वका बेला सुरक्षा व्यवस्था प्रभावकारी बनाउन क्विक रेस्पोन्स टिम (क्यूआरटी), स्ट्राइकिङ टोली, ट्राफिक चेकिङ, मोबाइल तथा पैदल गस्ती र शंकास्पद क्षेत्रमा पिकेट परिचालन गरिने प्रहरीले जनाएको छ ।
राजमार्गमा स्कर्टिङ तथा यात्रु सहायता कक्ष सञ्चालन गर्ने तयारीसमेत गरिएको छ ।
सीमा क्षेत्रमा चोरी तथा तस्करी नियन्त्रण, धार्मिक तथा पर्यटकीय स्थलको सुरक्षा, बजार अनुगमन, कर्डन एन्ड सर्च तथा सभा, जुलुस र धर्नाका क्रममा आकस्मिक सुरक्षा व्यवस्थासमेत मिलाइनेछ ।
सीमा नाकामा यात्रु तथा सर्वसाधारणको सहायताका लागि हेल्प डेस्क पनि सञ्चालन गरिनेछ ।
सुरक्षा योजनाअनुसार विभिन्न नियमित ड्युटीमा मात्रै ५ हजार ४८१ प्रहरी परिचालन हुनेछन् ।
बाँकी जनशक्ति कमाण्ड पोस्ट, संयुक्त गस्ती, सादा पोशाकमा सूचना संकलन र आकस्मिक सुरक्षाका लागि परिचालन गरिनेछ ।
नेपाल भारत खुला सीमाका कारण चाडपर्वको समयमा मानिसको आवतजावत बढ्ने भएकाले तस्करी तथा अवैध सामान ओसारपसार नियन्त्रणलाई प्रहरीले प्राथमिकतामा राखेको छ ।
धार्मिक स्थलमा हुने भीडमा चोरी, लुटपाट तथा मानिस हराउने घटना रोक्न विशेष निगरानी गरिनेछ ।
छठका बेला घाटमा डुबान, डुब्ने तथा भीडजन्य दुर्घटनाको जोखिमलाई समेत सुरक्षा योजनामा समेटिएको छ ।
धनुषामा भने भीडभाड हुने धार्मिक स्थलमा सञ्चालन गरिने रोटेपिङ झुलालाई लिएर प्रहरीले विशेष सतर्कता अपनाएको छ ।
गत वर्ष राममन्दिर र राजदेवी मन्दिर परिसरमा रोटेपिङ झुला दुर्घटना हुँदा केही व्यक्ति सामान्य घाइते भएका थिए । सम्भावित जोखिमलाई मध्यनजर गर्दै यस वर्ष ती क्षेत्रमा रोटेपिङ सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।
दशैंमा घर फर्किने र तिहारपछि बढ्ने यात्रु चापका कारण सडक दुर्घटना तथा ट्राफिक जाम हुन सक्ने भन्दै राजमार्ग तथा मुख्य सडकमा समेत निगरानी बढाइनेछ ।
प्रहरीले पटका तथा आतिसबाजीबाट हुन सक्ने आगलागी, जुवा तास तथा अवैध सट्टेबाजी, मदिरा सेवनबाट हुने झैझगडा, घरेलु हिंसा, पाकेटमारी, चोरी र लुटपाटलाई समेत चाडपर्व अवधिका प्रमुख सुरक्षा चुनौतीका रूपमा पहिचान गरेको छ ।
सुनचाँदी पसल, बैंक तथा नगद कारोबार हुने स्थानमा चोरी तथा डकैती रोक्न विशेष सुरक्षा व्यवस्था गरिनेछ ।
देउसीभैलो तथा सांस्कृतिक कार्यक्रमका कारण उत्पन्न हुन सक्ने रात्रिकालीन सुरक्षा चुनौती तथा धार्मिक कार्यक्रम र ध्वनि प्रयोगलाई लिएर हुन सक्ने स्थानीय विवादमा पनि प्रहरीले निगरानी राख्ने जनाएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै भीडमा हराउने तथा दुर्व्यवहार हुन सक्ने घटनाको रोकथाम गरिनेछ ।
अवैध मदिरा, लागुऔषध तथा प्रतिबन्धित पदार्थको ओसारपसार, कालोबजारी, कृत्रिम अभाव र अस्वाभाविक मूल्यवृद्धिमाथि पनि निगरानी बढाइने प्रहरीले जनाएको छ ।
सामाजिक सञ्जालमार्फत गलत सूचना तथा अफवाह फैलाएर सामाजिक तनाव सिर्जना हुन सक्ने भएकाले त्यसमाथि समेत निगरानी राखिनेछ ।
आगलागी, विद्युत् सर्ट, भीडजन्य दुर्घटना तथा अन्य आकस्मिक विपद्का घटनामा तत्काल परिचालनका लागि विपद् प्रतिकार्य टोलीसमेत तयारी अवस्थामा राखिने प्रहरीले जनाएको छ ।





