महोत्तरी – महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सांस्कृतिक कार्यक्रमका नाममा अश्लीलता र अभद्रता प्रदर्शन गर्ने गरी आर्केस्ट्रा सञ्चालन गर्न कुनै छुट नरहेको बताउनुभएको छ।
दसैँ, तिहार, छठलगायतका चाडपर्व तथा विभिन्न धार्मिक पूजाका अवसरमा सांस्कृतिक कार्यक्रमका नाममा अनुमति लिएर आर्केस्ट्रा सञ्चालन गर्ने र त्यसबाट समाजमा नकारात्मक प्रभाव परेको गुनासो आउन थालेपछि प्रशासनले निगरानी बढाएको उहाँले बताउनुभयो।प्रमुख जिल्ला अधिकारी यादवले सांस्कृतिक कार्यक्रमका लागि अनुमति माग्नेको सङ्ख्या बढेको र केहीले बिना अनुमति मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्ने गरेको गुनासोसमेत आउने गरेको बताउनुभयो।



“सांस्कृतिक कार्यक्रमका नाममा अनुमति लिन आउने धेरै छन्। केहीले बिना अनुमतिसमेत मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्ने गरेको गुनासो छ,” उहाँले भन्नुभयो, “कुनै बहानामा समाज बिगार्ने मनसायले अभद्रता र अश्लीलता पस्कन खोजे त्यस्ता गतिविधिमा कुनै छुट हुँदैन। दोषीलाई कानुनबमोजिम कारबाही हुन्छ।”
यस्ता कार्यक्रमको निगरानी गर्न प्रहरीलगायत सम्बन्धित सबै निकायलाई आवश्यक निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो। वास्तविक र मर्यादित सांस्कृतिक कार्यक्रम सञ्चालनमा भने कानुनबमोजिम कुनै बन्देज नरहेको उहाँको भनाइ छ।
त्यसैगरी, अबेर रातिसम्म कार्यक्रम सञ्चालन गर्ने तथा कार्यक्रमस्थलमा मदिरा बिक्री–वितरण गर्ने कार्यप्रति प्रशासन गम्भीर रहेको प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो। यस्ता गतिविधि भएमा तत्काल प्रहरीलाई जानकारी गराउन उहाँले सर्वसाधारणसँग आग्रह गर्नुभयो।
दसैँलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय महोत्तरीले विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ। चाडपर्वका समयमा हुन सक्ने सम्भावित घटना तथा आपराधिक गतिविधि नियन्त्रण गर्न सुरक्षा निकायलाई विशेष निर्देशनसहित परिचालन गरिएको प्रजिअ यादवले बताउनुभयो।





