महोत्तरी – महोत्तरीको औरही नगरपालिका–७, भोइल गाउँस्थित प्रसिद्ध सोनासति महारानी अर्थात् श्री सोनामाई मन्दिरमा बडादसैँको अवसरमा विशेष पूजाआजा तथा भव्य भूत मेला आयोजना हुने भएको छ। मेला व्यवस्थित,मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न स्थानीयस्तरमा तयारी तीव्र पारिएको छ।
श्री सोनामाई मन्दिर संरक्षण तथा संवर्द्धन समितिका निमित्त अध्यक्ष अम्बिका प्रसाद यादवले मेला सञ्चालनको जिम्मेवारी वडा अध्यक्ष जितेन्द्र यादवलाई सुम्पिएपछि वडा अध्यक्ष यादवको अध्यक्षतामा बसेको बैठकले मेला व्यवस्थापनका लागि ११ सदस्यीय श्री सोनामाई मेला उपसमिति गठन गरेको हो।




गठित उपसमितिको अध्यक्षमा विकेश यादव, उपाध्यक्षमा रवि यादव, कोषाध्यक्षमा रञ्जित यादव र सचिवमा जितेन्द्र ठाकुर चयन हुनुभएको छ। त्यस्तै, सदस्यहरूमा अशोक कापड, प्रमोद सुडी, आकाश चौधरी र राजेश यादव रहनुभएको छ। उपसमितिमा आवश्यकताअनुसार थप सदस्य समावेश गर्ने निर्णयसमेत बैठकले गरेको छ।
शनिबार बृहत् सरसफाइ कार्यक्रम
मन्दिर परिसर तथा मेलास्थललाई सफा, स्वच्छ र व्यवस्थित बनाउने उद्देश्यले असोज २४ गते शनिबार बृहत् सरसफाइ कार्यक्रम सञ्चालन गरिने भएको छ। मेलामा आउने भक्तजन तथा दर्शनार्थीलाई सहज वातावरण उपलब्ध गराउने लक्ष्यसहित मन्दिर परिसर र आसपासका क्षेत्रमा सरसफाइ गर्न लागिएको आयोजकले जनाएको छ।
सरसफाइ अभियानमा सहभागी हुन स्थानीय युवा, समाजसेवी तथा सम्पूर्ण वडावासीलाई आयोजकले आग्रह गरेका छन्।
घटस्थापनामा कलश यात्रा निकालिने
सोनामाई मन्दिरमा गत वर्षदेखि घटस्थापनाका दिन कलश यात्रा निकाल्ने परम्परा सुरु गरिएको हो। यस वर्ष पनि असोज २५ गते आइतबार घटस्थापनाका दिन औरही नगरपालिका–२, फुलबरिया गाउँको पश्चिमतर्फ बग्ने जङ्घा, बेतो र पचाइन नदीको सङ्गमस्थलबाट सोनामाई मन्दिरसम्म कलश यात्रा निकालिने भएको छ।
सङ्गमस्थलबाट धार्मिक विधिअनुसार जल भरेर निकालिने कलश यात्रामा स्थानीय श्रद्धालु भक्तजनको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। कलश मन्दिरमा पुर्याएपछि विधिपूर्वक पूजाआजा गरिनेछ।
कलश यात्रालाई भव्य बनाउन राजनीतिकर्मी, युवा, विद्यार्थी, कर्मचारी, किसान, मजदुर तथा व्यापारीलगायत सबै वर्गलाई सक्रिय सहभागिताका लागि आह्वान गरिएको छ।
मन्दिरको संरक्षण र मेलाको व्यवस्थापनमा जोड
श्री सोनामाई मन्दिर संरक्षण तथा संवर्द्धन समितिका निमित्त अध्यक्ष अम्बिका प्रसाद यादवले सोनासति महारानीको मेला स्थानीय समुदायको धार्मिक आस्था र परम्परासँग जोडिएको महत्वपूर्ण पर्व भएको बताउनुभयो। उहाँले मेलालाई विगतका वर्षभन्दा अझ व्यवस्थित र मर्यादित बनाउन स्थानीय वडा कार्यालय तथा युवालाई व्यवस्थापनको जिम्मेवारी दिइएको जानकारी दिनुभयो।मन्दिर समितिका तर्फबाट मेलालाई सफल बनाउन आवश्यक सहयोग गरिने उहाँको भनाइ छ।
त्यस्तै, वडा अध्यक्ष जितेन्द्र यादवले सोनामाई मन्दिर यस क्षेत्रको ऐतिहासिक तथा धार्मिक आस्थाको प्रमुख केन्द्र रहेको बताउँदै मेलालाई सभ्य, भव्य र अनुशासित रूपमा सम्पन्न गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्नुभयो। उहाँले भक्तजनलाई सुरक्षा, सुविधा र सहज वातावरण उपलब्ध गराउन वडा कार्यालय तथा स्थानीय समिति प्रतिबद्ध रहेको बताउनुभयो।
मेला उपसमितिका अध्यक्ष विकेश यादवले यस वर्षको मेलालाई विगतभन्दा अझ व्यवस्थित, सुरक्षित र भव्य बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। टाढाटाढाबाट आउने भक्तजन तथा व्यापारीलाई सहज वातावरण उपलब्ध गराउन सम्बन्धित सबै पक्षसँग समन्वय गरिने उहाँले बताउनुभयो।
सुरक्षा व्यवस्था र ठेक्का प्रक्रियाको तयारी
मेला अवधिभर शान्ति सुरक्षा कायम राख्न जिल्ला तथा इलाका प्रहरी प्रशासनसँग आवश्यक सुरक्षाकर्मी परिचालनका लागि अनुरोध गर्ने निर्णय बैठकले गरेको छ। बाहिरबाट आउने भक्तजनको सेवा, बलि प्रदान, सन्ध्या आरती तथा मेलामा सहभागी हुने व्यापारीका लागि आवश्यक व्यवस्थापन मिलाइने जनाइएको छ।
यसैगरी, मेला सञ्चालनलाई पारदर्शी र व्यवस्थित बनाउन असोज २४ गते शनिबार सोनामाई मेलाको ठेक्का प्रक्रिया अघि बढाउने निर्णयसमेत बैठकले सर्वसम्मत रूपमा पारित गरेको छ। ठेक्का प्रक्रियामा सहभागी हुन इच्छुक ठेकेदारलाई समयमै जानकारी गराई आमन्त्रण गरिने आयोजकले जनाएको छ।
धार्मिक आस्था र परम्पराका कारण चर्चित सोनामाई मन्दिरको मेलामा प्रत्येक वर्ष भक्तजनको सहभागिता रहने गरेको छ। यस वर्ष पनि आवश्यक व्यवस्थापन, सुरक्षा र सरसफाइमा विशेष ध्यान दिँदै मेला सफल बनाउने तयारी भइरहेको आयोजकले जनाएको छ।















